उदयपुर । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि अहिले राजनीतिक दलहरु उम्मेदवार घाेषणा गरेर दाैडदुपमा छन् । यस निर्वाचनमा विशेष गरेर गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्प्रर्धा हुने भएकाे छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेश १ मा आवद्ध छन् । जसकाे कारण देशका सात वटा प्रदेशमध्ये प्रदेश १ मा गठबन्धनै बलियाे देखिएकाे हाे । एमालेले पाँचदलीय गठबन्धनको कडा चुनौती सामना गर्नुपर्ने प्रष्ट देखिन्छ ।
प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि हुनलागेको निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो । केन्द्रमा रहेको पाँचदलीय गठबन्धन बाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकोले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा धेरै पुगेकाे हाे ।
सबै मतदाताले मतदानमा सहभागी भएमा र फ्लोर क्रस नभएमा प्रदेश १ का तीन वटै सिट गठबन्धनका उम्मेदवारले जित्ने देखिन्छ । स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।
कति छन् मतदाता ?
निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कार्वाही गरेपछि उनको पद रिक्त रहेको छ भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएको कारण २७२ जना मतदाता छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकोले स्थानीय तहका मतदाताको पद रिक्त छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्राबधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरि जम्मा मतभार ९ हजार ३१२ रहेको छ ।
कुन दलकाे कति छ मतभार ?
प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार रहेको छ भने पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार ४ हजार ६६० देखिएको छ । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध काँग्रेसको २ हजार ७३६, माओवादी केन्द्रको १ हजार ८, एकीकृत समाजवादीको ६६०, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ ।
राप्रपा नेपालको मत एमालेलाई गएको अवस्थामा पनि गठबन्धन २४ मतले अगाडि हुने देखिएको छ । प्रदेशमा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४२ जनप्रतिनिधिको २ हजार ५५६ मतभार रहेको छ ।
यसैगरि नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । काँग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरि जम्मा मतभार २ हजार ७३६ छ । नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् ।
माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीको प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् ।
स्थानीय तहका प्रमुख र अध्यक्ष ५ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जनाको मतभार १८० रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृ समाजवादीको जम्मा मतभार ६६० रहेको छ । प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार रहेको छ । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ ।
प्रदेश १ मा राष्ट्रियसभाका लागि आठ जनाले उम्मेदवार मैदानमा
प्रदेश नं १ बाट आठ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जसमा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईले मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) र राप्रपाबाट रन्जु प्याकुरेल (झापा) रहनुभएको छ ।
यसैगरी अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।