उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरी विद्यालयहरुमा वितरण सुरु गरेको छ । कक्षा १ देखि ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामक स्थानीय पाठ्यपुस्तक तयार पारि वितरण सुरु गरेको हो ।
विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले चालु शैक्षिकसत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी वितरण सुरु गरेको त्रियुगा नगरपालिकाकी शिक्षा शाखाकी प्रमुख शिवकुमारी राउतले बताउनु भयो ।
उहाँका अनुसार नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समावेश गरी कक्षा १ देखी ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामको पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो ।
एकसय पूर्णाङ्कको पुस्तकमा नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो ।
‘विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार पारिएको छ, पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने छ’ नगर प्रमुख बस्नेतले भन्नुभयो । उहाँले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार बस्नेतको भनाइ छ ।
‘त्रियुगा ज्ञानमाला’ मा आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझ्ने अवसरका लागि नै स्थानीय पाठ्य पुस्तक लागू गरिएकाले आधारभुत तहसम्मका विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यकरहेकाले पुस्तक निर्माणगरी वितरण गरिएको नगर उपप्रमुख महेश्वरी राइले बताउनु भयो ।