उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेँरीको विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पर्ने अर्जुन डहर पार्कमा टिकटक घर निर्माण हुने भएको छ । मदन भण्डारी लोकमार्गको नजिकै पर्ने उक्त पार्क अहिले आन्तरिक पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ ।
आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्न थालेपछि सामुदायिक वन उपभोक्ता समूहले पर्यटकीको भौतिक संरचना पनि बढाउँदै लगेको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत देवचन्द्र गोइतले १० लाख ६ हजारमा उद्यानसहितको टिकटक घर बनाउन आर्थिक सहयोग गरेको जानकारी दिनु भयो ।
त्यसमा सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ७० हजार खर्च गरेको समूहका सचिव केशवबहादुर अधिकारीले जानकारी दिनुभयो । ‘उदयपुरको पर्यटकीय गनतव्यमध्ये हामी अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेका छौँ ।’ उहाँले भन्नुभयो, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारकोसमेत सहयोगको अपेक्षा गरेका छौँ ।’
उक्त पार्क मदन भण्डारी लोकमार्गको अधेँरी खण्डबाट दुई किलोमिटरको दुरीमा पश्चिमतिर पर्दछ । हरियाली जङ्गलकोबीचमा रहेको छ । रुखमै रहेको रुखमा सखुवाको रुखमा टिकटक घर बनाउ सुरु गरिएको सचिव अधिकारीको भनाइ छ ।
वनभोज आउनेहरुको लागि विभिन्न आवासिय टहरासमेत निर्माण गरिएको छ । पोखरीमा माछासमेत पालिएको छ । विभिन्न प्रकारका फुलहरु रोपेर रमणीय बनाइएको छ । अर्जुन डहर पार्क उदयपुरकाे नयाँ पर्यटकीय केन्द्रकाे रुपमा विकास हुँदै गएकाे छ ।
प्रकाशित मिति:
शुक्रबार, भदौ २५, २०७८, १८:५७:००