काठमाडौ । अष्ट्रेलियाले भारतविरुद्ध दोस्रो एक दिवशिय क्रिकेटमा ५१ रनको फराकिलो जित हासिल गर्दै ३ म्याचको सिरीज माथि कब्जा जमाएको छ ।
अष्ट्रेलियामा भइरहेको दुई देशबीचको ३ खेलको वन डे सिरीज अन्तर्गतको दोस्रो एक दिवशीय खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो ।
उसका लागी स्टेभन स्मिथले सर्वाधिक १०४ रन बनाए । यसमा १४ चौका तथा २ छक्का सामेल थियो । ओपनर डेविड वार्नर तथा कप्तान आरोन फिन्चले पहिलो विकेटका लागी १४२ रनको उत्कृष्ट साझेदारी गरे । वार्नरले ७७ बलमा ७ चौका तथा ३ छक्का व्यक्तिगत ८३ रन बनाउँदा कप्तान आरोन फिन्च ६० रनमा आउट भए ।
यस्तै मार्नस लाबुस्चाग्नेले ७० रन बनाएका थिए । पाचाँै क्रममा ब्याटिङ गर्न आएका ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ४ चौका तथा ४ छक्काको मद्दतले ६३ रन बनाएपछि अष्ट्रेलियाले ३८९ रनको विशाल लक्ष्य दिएको थियो ।
खराब बलिङ गरेको भारतका लागी मोहम्मद शामी,जसप्रीत बुम्राहा तथा हार्दिक पाण्डेले १/१ विकेट लिए ।
३९० रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रनमात्र बनाउन सक्यो ।
ओपनरहरु मयंक अग्रवालले २८ रन बनाउँदा अर्का ओपनर सिखर धवन ३० रनमा आउट भएको खेलमा कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । लोकेश राहुलले ७६ रन बनाउँदा श्रेयस अयरले ३८ तथा हार्दिक पाण्डेले २८ रन बनाए ।
भारतलाई सस्तैमा समेट्नका लागी अस्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिँदा जोस हाज्लीवुड तथा एडम जाम्पाले २/२ विकेट लिए । मोइसेस हेनरीक तथा ग्लेन म्याक्सवेलको नाममा १/१ विकेट रह्यो ।