उदयपुर । प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्त्व बोकेको ताप्ली पोखरी ताप्ली गाँउपालिका–२ लेकगाउँमा पर्छ । उदयपुरको प्रमुख पर्यटकीय स्थलमध्ये एक यस पोखरी जान कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टामा पुगिन्छ । समुन्द्री सतहबाट एक हजार ८०० मिटर उचाइमा रहेको यस पोखरीलाई रानी पोखरीको नामले समेत चिनिन्छ ।
ताप्ली गाँउपालिकाकी उपाअध्यक्ष कमलमाया राईका अनुसार ताप्ली पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । उच्च क्षेत्र भएकाले यस गाउँमा खानेपानीको समस्या छ । त्यसैले स्थानीयहरुले गाईवस्तुका लागि पोखरीको पानी प्रयोग गर्ने र गाईवस्तु छाडा छाडिदिनाले पानी सुक्दै गएको छ । तर, पछिल्लो समय पोखरी संरक्षणका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना बनार काम सुरु गरेको छ ।
पोखरी रहेको क्षेत्रबाट सगरमाथासम्मका हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । यहाँ रहेका हरियो चउरले भरिएका थुम्काहरू आकर्षक छन् । वर्षैभरी चिसो हुने यस क्षेत्रमा पर्यटकहरू गर्मी छल्न अउने गर्दछन् ।
ताप्ली पोखरी क्षेत्र जैविक विविधताका हिसाबले पनि महत्त्पूर्ण मानिन्छ । ‘विभिन्न प्रकारका जडीबुटी समेत यस क्षेत्रमा पाइन्छ,’ उपाध्यक्ष राईले भनिन्, ‘त्यसैले पोखरी र यस क्षेत्रको संरक्षणका लागि विभिन्न काम गरिरहेका छौँ ।’
यस्तो छ, धार्मिक मान्यता ?
ताप्ली पोखरीको ७५ मिटर चौडा तथा ३२० मिटर लाम्बाइ छ । पोखरीको गहिराई तीन मिटर छ । पोखरीको किनारामा अवस्थित पञ्चकन्या मन्दिरमा नयाँ वर्षका दिन मेला लाग्ने गरेको छ । सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किवदन्ती रहेको स्थानीय ७० वर्षीय डिगनारायण श्रेष्ठ बताउँछन् । यहाँ पूजाआज गरे मनोइच्छा पूरा हुने जनविश्वसा छ,’ उनले भने, ‘विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ ।’
ताप्ली पोखरीको दक्षिणतर्फबाट नेपालको तराई क्षेत्रका साथै भारतका सहरहरू अवलोकन गर्न सकिन्छ । पोखरी किनारमा भ्यु–टावरसमेत निर्माण भैरहेको छ । पोखरी क्षेत्रबाट विश्वको सर्वोच शिखर सगरमाथासमेत छर्लंग हेर्न सकिन्छ्र ।