उदयपुर । उदयपुरको भित्री मधेसमा पाकेका धान लहलह झुलेका छन् । भित्र्याउने समय भएकाले खेतका गह्रा तथा फाँटहरु पहेँलपुर भएका छन् । धान पाक्दा भित्री मधेस यतिबेला सिँगारिएको छ । यहाँका नेपालटार, रिस्कु, कटारी, गाईघाट, बेल्टारलगायतको क्षेत्र पहेँलपुर बनेका छन् ।
उदयपुरका कटारी, चौदण्डी, त्रियुगा, बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाको अधिकांश भाग भित्री मधेसमा पर्दछन । सोही क्षेत्र अहिले धानको चमकले हेरिहुँजस्तै भएको छ । उदयपुरको धान उत्पादन हुने क्षेत्र भित्री मधेस भएको उदयपुरगढी गाउँपालिका नेपालटारका बोधकुमार घिमिरले बताए ।
तर, ती क्षेत्रमा गुणस्तरीय मानिने बासमती धान अचेल पाउन मुस्किल छ । सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा र खेतीयोग्य जमिनको खण्डीकरण भएकाले त्रियुगा नदी तटीय क्षेत्रको रैथाने बासमती धान लोप हुँदै गएको हो ।
विस्थापित रैथाने धान
विभिन्न जातका हाइब्रिड जातका धानले स्थानीय जातको रैथाने धान लोप हुन थालेको छ । ५÷७ वर्षअघिसम्म किसानले लगाउने रैथाने धान अहिले लोप हुँदै गएको छ । भित्री मधेसका क्षेत्रमा उत्पादन हुने बासमती, पहाडी क्षेत्रको पोखरेलीलगायतका जातका धान लोप हुँदै गएका हुन् ।
उन्नत जातको धान (हाइब्रिड) को विकाससँगै पुरानो र परम्परागत खेतीमा प्रयोग गरिने धान लोप हुँदै गएको त्रियुगा नगरपालिका–१ जोगीदहका किसान हरि चौंलगाईले बताए । ‘बासमतीलगायतका विभिन्न जातका धान लोप हुँदै गएका छन्,’ उनले भने, ‘धानमा पर्याप्त सिँचाइ र कम्पोस्ट मलको प्रयोग गर्न नसक्दा समस्या आउने गरेको छ ।’
खेतीयोग्य जमिनको खण्डीकरणसँगै स्थानीय जातका धानको खेती कम हुन थालेको हो । परम्परागत खेतीमा जस्तो अहिलेको आधुनिक खेती प्रणालीमा बासमती धान नफल्ने किसानहरुको भनाइ छ । उदयपुरमा १३ हजार ३८० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। तीमध्ये अधिकांश भाग भित्री मधेसमा पर्दछ । धान खेती हुने स्थानमध्ये सात हजार ३०३ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
फोटो फिचर






