एजेन्सी । अहिले विश्वमा अहिले कोरोना भाइरस (कोभिड १९) को खोप र औषधी खोज्नेक्रम जारी छ । झण्डै आधा वर्ष पुग्न लाग्दा कोरोना भाइरसले विश्वभरी लाखौँ मान्छेको ज्यान लिइरहेको छ ।
केही समय अघि विश्वनै लकडाउन थियो । तर विस्तारै विस्तारै खुकुलो हुदै गएपनि कोरोना संक्रमण एकाएक बढिरहेको छ । यसै सन्र्दभमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि संसारभर कम्तिमा २० लाख जनाले ज्यान गुमाउने दाबी गरेको छ ।
डब्ल्युएचओका आपतकालीन सेवाका प्रमुख डा माइक रायनले कोरोनाविरुद्धको खोप पत्ता लाग्ने समयसम्म संसारभर कम्तिमा २० लाख मानिसले ज्यान गुमाइसक्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले मानिसहरुले कोरोनालाई सामान्य भाइरसको रुपमा लिदाँ संक्रमिण बढिरहेको भन्दै भनेका छन्, ‘कोरोना संक्रमणबाट जोगिनका लागि सबै देशले एकीकृत र प्रभावकारी कदम चाल्नुपर्ने छ ।, तर, त्यो भइरहेको छैन, जहाँ संक्रमित बढिभएका देशहरुले हेला गर्दा संक्रमितको संख्या बढिरहेको छ ।’
रायनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि खोप र उपचारमात्रै नभएर मानविय व्यवहार महत्वपूर्ण भएको तर्क गर्दै विश्वका देशका सरकारले कोरोना नियन्त्रणका लागि विशेष सतर्कता र कडाइका सबै उपायको अवलम्वन गर्नुपर्नेमा सुझाव समेत दिएका छन् ।
सन् २०१९ को अन्तिममा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणले अहिलेसम्म झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । ३ करोड २५ लाख मानिस संक्रमित भइसकेका छन् । विश्वका विभिन्न देशहरु कोरोनाविरुद्धको भ्याक्सिन निर्माण गर्न लागेपनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।