उदयपुरगढी । उदयपुरगढी गाउँपालिकामा चैते धान उत्पादनको क्षेत्रफल विस्तार हुँदै गएको छ । तावा र वैजनाथ खोला क्षेत्रमा प्रशस्त मात्रमा चैते धान उत्पादन हुने भएकाले क्षेत्र पनि विस्तार हुँदै गएको हो ।
पालिकाको कृषि विकाश शाखाबाट धान खेती हुने क्षेत्रमा सिँचाईको लागि कुलो, मल, विउविजन सहयोग हुन थालेपछि चैते धान उत्पादनको क्षेत्रफल विस्तार हुँदै गएको कृषकहरुको भनाई छ ।
स्थानीय कृषक हरीबहादुर कार्कीले उन्नत जातको धानको विउ, सिचाँईको लागि कुलो लगायतमा पालिकाले सहयोग गर्न थालेपछि चैते धान खेतीतर्फ कृषक आर्कषित हुन थालेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तावा खोला क्षेत्रमा पहिलादेखिनै चैते धान थोरै परिमाणमा भए पनि लगाउँदै आएका थियौँ । अहिले भएजति खेत सबैमा लगाउन थालेका छौँ ।’
मकै उत्पादनको तुलनामा चैते धान धेरै उत्पादन हुने क्षेत्र हो । उदयपुरगढी गाउँपालिका–१ का कमल खत्री बताउँछन्, ‘चैते होस्, या वर्खे धान होस्, उत्पादनमा गाउँपालिकाको कृषि विकास शाखाबाट किसानले विभिन्न सहयोग पाउँदै आएका छन् । धान खेतीलाई आधुनिकरण गर्नको लागि विभिन्न कृषि उपकरणहरु पाइएको छ ।’ उदयपुरगढी गाउँपालिका भित्री मधेश र पहाडी क्षेत्रमा पर्दछ ।
भित्री मधेशका चुरे भेगमा चैते र वर्खे धान खेती हुन्छ भने पहाडी क्षेत्रमा पनि वर्खे धान उत्पादन हुने गरेको छ । अधिकाँश चुरे भेगमा धान खेती हुने गरेको छ । यिनै क्षेत्रका कृषकलाई धान खेतीमा गाउँपालिकाको कृषि विकास शाखाबाट तामिल, धानको विउ, धान खेतीको लागि आवश्यक पर्ने उपकरण सहयोग गरिँदै आइएको जानकारहरुको भनाइ छ ।
संघीय पुर्नसंरचनामा गाउँपालिका निर्माण भएपछि कृर्षकहरुलाई कृषी क्षेत्रमा रोजगारी सिर्जना गर्ने गरी प्रत्सहान गर्न थालिएको छ । जसमा धान खेती गर्ने कृषक पनि पर्दछ । परम्परागत धान खेती गर्ने कृषकलाई आधुनिकीकरण गर्नको लागि उत्साहित गर्न थालेपछि उत्पादन बृद्धि हुन थालेको अनुभव उदयपुरगढी गाउँपालिका–३ का का वडा अध्यक्ष तथा पालिकाको आर्थिक विकास समितिका संयोजक मनोजकुमार कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘गाउँपालिकाको कृषि विकास शाखा, वडा, प्रदेश र संघीय सरकारका विभिन्न निकायहरुबाट धान खेतीमा कृषकले सहयोग पाउन थालेपछि उत्पादन बृद्धि भएको पाइन्छ ।’
उदयपुरगढी गाउँपालिकाको कुल २७ हजार ४९२ हेक्टर जग्गामध्ये तीन हजार ४६१ हेक्टर खेतीयोग्य जमिन छ । कृषि विकास शाखाका प्रमुख पारसमणी फुयलका अनुसार चैते मात्र झण्डै एकसय हेक्टरमा हुने गरेको छ । उहाँ भन्नुहुनन्छ, ‘ पालिकाको वडा नम्वर १, २, ३, ४ को तल्लो भेग, वडा नम्वर ५, वडा नम्वर र ६ र ८ मा चैतेको खेती हुने गरेको छ ।’
विहीबार कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादव, केन्द्रकै बालि विकास अधिकृत फुलमाया शेर्पा र उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणी फुयल लगायतको संयुक्त टोलीले चैत धान खेती क्षेत्रको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख यादवले उदयपुरगढी क्षेत्रमा चैते धान खेती क्षेत्रमा अझै विस्तार गर्न सकिने सम्भावना रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सिँचाईमा कृषकलाई सहयोग गर्न सके चैते धान खेती विस्तार हुने प्रशस्त सम्भावना रहेको छ ।’