उदयपुरगढी । उदयपुरको पुरोनो सदरमुकाम समेत रहेको उदयपुरगढी जिल्लाकै एक प्रमुख पर्यटकीय गनतव्य स्थल हो । उदयपुरगढी सँस्कृति र पुरातात्विक हिसाबले भरिपूर्ण छ ।
राजा उदयसिंह नामका सेन राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन् । अहिले पनि गढी दरबारपारिको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको प्रत्यक्ष सुन्न सकिन्छ भन्ने स्थानीयको जनविश्वास रहेको छ ।
उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ । पृथ्वीनारायण शाहदेखि यता दर्जनौं परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरिएन ।
समुद्री सतहबाट करिब एक हजार ३०० मिटरको उचाइमा अवस्थित छ । उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन उदयपुरगढीबाट गर्न पाइन्छ । उदयपुरगढीलाई प्रदेश १ कै पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको छ ।
उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी मन्दिर, चुला ढुंगा शिवपार्वती हुन् । पुरानो गढीको भग्नावशेष, टुँडिखेलको गणेशथान, संसारी माईथान, गढीकै पुरानो वरपीपलको बोट, ऐतिहासिक पोखरीको वर्षौं पुरानो इतिहास छ । यस्तै, घ्याम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्नलायक रमणीय ठाउँ छन् । ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढीमा संग्रहालय बनाउन सके पर्यटकलाई थप आकर्षित गर्नेछ । भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानबाट देखिने गढीको डाँडामा रहेको यस मन्दिरबाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाका साथै तराईको समथर जमिन समेत देख्न सकिन्छ ।
वर्षायाम सकिएर हिँउद लाग्दै गर्दा अहिले उदयपुरगढी खुल्दै गएको छ । उदयपुरगढीबाट देखिएका तराई र भित्री मधेसका फाँट अनि कुहिरोले घुम्टोभित्र रहेको चुरे जंगल मनै भुलाउने छ ।
हेर्नुहोस् फोटो