धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ ।
धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ ।
किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६/७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ ।
उच्च पहाडी क्षेत्रमा
माछापुच्छे, छोमरुङ, जुम्ली मार्सी
पहाडी क्षेत्रमा
खुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११
तराई वा भित्री मधेशमा
राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१ लगायतका धानहरु कृषि प्राविधिहरुको सल्लहा अनुसार लगाउने ।
बीऊदर
उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।
बीऊ उपचारः
बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने ।
बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।
जमिनको तयारी
रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने ।
जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।
रोपाईं गर्ने प्रविधि
पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने ।
उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।
रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ ।
यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।
मलखाद
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ ।
उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।
मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं ।
यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ ।
धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ ।
धान बालीमा जिंक तत्वको कमी प्रायः देशभरी नै देखिएको छ ।
प्लास्ट रोग
यो रोगको लक्षण स्वरूप पातहरूमा दुबै छेउतिर चुच्चिएका अडाकारका थोर्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोपलाको बीचमा सेतो बिन्दु हुन्छ ।
बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।
व्यवस्थापन रोग अवरोधक जातको खेती गर्न । स्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई स्याडमा राम्ररी छर्न ।
बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने ।
स्याक्टेरियल लिफ प्लाइट लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङ्गका धर्साहरू देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ ।
व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने ।
रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने । एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीऊलाई ३० मिनेटसम्म डुबाएर बीऊ उपचार गर्ने ।
खैरो थोप्ले रोग लक्षण पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चा खैरा थाप्लाहरू देखिन्छन् । व्यवस्थापन खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपात नष्ट गर्न ।
उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्न । मेन्कोजेव डाइथेन एम–४५ बिषादी तीन ग्राम प्रतिलिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा तीन पटक छर्कने ।
फेद कुहिने रोग लक्षण खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछ । बोटमा तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् । व्यवस्थापन रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न ।
स्वास्थ्य बीऊको प्रयोग गर्न । डेरोसाल ५० प्रतिशत डब्लु पी बिषादी दुई ग्राम प्रति किलोग्राम बीऊका दरले उपचार गरी प्याड राख्ने । पातको फेद डढुवा रोग लक्षण सुरुमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् ।
थोप्लाहरू बढ्दै गएर काला गिर्खाहरू देखा पछन् । बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ ।
सिँचाइ तथा निकास
बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।
झारपात नियन्त्रण
झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने,
वा, छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने ।
रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने ।
बाली काट्ने चुट्ने
८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भित्र्याउने ।
उत्पादन
उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा । वर्णशंकर जातको उत्पादन ४०० केजी प्रति रोपनी वा २६६ केजी प्रति कठ्ठा ।
तल यस सम्बन्धि केही जिज्ञासा अनि उत्तर पनि हेरौं ।
धानमा पात बेरुवा कीरा नियन्त्रण गर्न के गर्नुपर्ला ?
धानमा ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याेउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने ।
धानको फड्के कीरालाइ रसायनिक तरिकाले ब्यवस्थापान कसरी गर्ने ?
रसायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने ।
धानको फड्के कीरालाई जैबिक तरिकाले ब्यवस्थापन कसरी गर्न सकिन्छ ?
यो कीरा बत्तीमा आकर्षित हुने हुनाले यिनलाई बत्तीको फन्दामा पारेर मार्न सकिन्छ ।
धानमा गवारो कीराको ब्यवस्थापान कसरी गर्ने ?
रोगर वा ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) २ ग्राम प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्न सकिन्छ ।
धानमा खैरा रोगको रोकथाम गर्न के गर्नुपर्ला ?
धान रोपी सकेपछि यो समस्या आएमा ५ किलो ग्राम जि सल्फेट र २.५ किलो ग्राम चुन (घर पोत्ने चुन) प्रति हजार लिटर पानीमा मिसाई एक हेक्टरका दरले छर्कने ।
धानमा खैरा रोगको लक्षण कस्तो हुन्छ ?
रोग लागेमा गाँज कम हाल्ने, बोट होचो हुने र तल्ला पातहरु पहेंलिने हुन्छन् । पहेंलोपन प्रायः पातका नसाहरुको बीचमा देखापर्छ ।
धानमा कालो पोके रोगको रोकथाम गर्न के गर्नुपर्ला ?
कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
धानमा कालो पोके रोग भनेको के हो ?
यो रोगले गर्दा धानको बालामा दानाको सट्टा ढुसीका बिजाणुहरुको पोको बन्न जान्छ । यो पोको बाहिरबाट हरियो र भित्र पहेलो वा सुन्तला रङ्गको हुन्छ । पछि गएर यो पोको कालो रुपमा परिणत हुन्छ ।
धानमा फेद कुहिने रोगको रोकथाम के होला ?
यो रोग बीउवाट सर्ने भएकोले बीउलाई कार्बेन्डाजिम ३ ग्राम प्रति के.जी. बीउलाई उपचार गरेर मात्र ३ दिन पछि ब्याड राख्ने । यो बिधि खुमल ४ धानको जातको लागि आवश्यक छ।
धानमा फेद कुहिने रोगको लक्षण के होला ?
रोगी बेर्ना या बोटहरु स्वस्थ बेर्ना बोटहरु भन्दा अग्लो हुने, पहेंलिने र कुहिएर मर्ने गर्दछन् ।
धानमा डढुवा रोगको ब्यवस्थापान कसरी गर्ने ?
डढुवा रोगको लक्षण देखिएको शुरुको अवस्थामा २ किलोग्राम गाईको गोबर १० लीटर पानीमा २ घण्टा सम्म भिजाउने र मसिनो कपडाले छानिसके पछि १०० ग्राम म्यूरेट अफ पोटास (पोटास मल), १० ग्राम बेसार मिसाएर घोल तयार पारी स्प्रेयरले छर्केर ।
धान बाली काट्ने समय कसरी थाहा पाउने ?
८५˗९० प्रतिशत दाना पाकिसके पछि वाली काट्नुपर्छ ।
रसायनिक बिधिबाट झारपात नियन्त्रण कसरी गर्ने ?
झारपात नियन्त्रणको लागि बेर्ना रोपेको २–३ दिन भित्र पानीमा पातलो झिल्ली हुने गरि ब्युटाक्लोर २ मि.ली. प्रति लीटर पानीमा मिसाएर छर्न पनि सकिन्छ ।
धानमा झारपात नियन्त्रण कसरी गर्ने ?
सामान्यतया बेर्ना रोपेको ३०˗३५ दिनपछि पहिलो गोडाई र झारपातको प्रकोप हेरी रोपेको ५५˗६० दिनमा दोस्रो गोडाई गर्नु पर्दछ ।
धानको बीउ छर्ने र रोप्ने समय कहिले हो ?
उच्च पहाडमा
बैशाख˗जेठमा बीउ छरी जेठ˗आषाढमा रोपिन्छ ।
मध्य पहाडमा
बैशाख˗जेठमा बीउ छरी जेठ˗श्रावणमा रोपिन्छ ।
तराईमा
जेठ˗आषाढमा बीउ छरी आषाढ˗श्रावणमा रोपिन्छ ।
धानखेतमा पानीको मात्रा अवस्था अनुसार कसरी ब्यवस्था गर्नुपर्दछ ?
रोपाई गर्दा २˗३ से.मी. पानी हुनुपर्दछ । रोपाईको ३ दिनसम्म सिंचाई नदिने र त्यसपछि खेतमा लगातार ५ से.मी. सम्म पानी जमाउनुपर्दछ ।
गोडाई र मलखाद टपड्रेस गर्दा ५ दिन सम्म पानी कटाउनुपर्दछ।बाला पसाउने र फूल फुल्ने अवस्थामा खेतमा १० से.मी. पानी जमाई राख्नुपर्दछ।
धान काट्ने अवस्था भन्दा १०˗१५ दिन अगाडि देखि खेतबाट पुर्णरुपमा पानी कटाउनुपर्दछ ।
धानको बेर्ना रोपेपछि पानी धेरै दिन सम्म टिकाउन के गर्नुपर्ला ?
माटोलाई राम्रो सँग हिल्याएर एकनासले बाउसे (रोपाई गर्दा खेतको हिलो सम्याउने काम) गरेर हिलो माटो सम्याउनुपर्दछ ।
धानको बेर्नाको उमेर कति हुनुपर्दछ ?छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ ।
धानको बीउ दर कति हो ?
१.६ के.जी. प्रति कठ्ठा वा २.५ के.जी प्रति रोपनी वीउ पर्याप्त हुन्छ ।
धानको बीउलाई के ले उपचार गर्नुपर्दछ ?
कार्बेन्डाजिम २.५ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्ने । बीउ छर्नुभन्दा ५ देखि ७ दिन अघि नै बीउ उपचार गर्नुपर्दछ ।
धानको बीउको लागि बीउ छनौट कसरी गर्ने ?
बीउ छान्दा १० लिटर पानीमा १.६५ कि.ग्रा. खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउछ । थिग्रिएको बीउलाइ पानीबाट निकाली, सफा पानीले पखाल्नुपर्दछ र बीउको लागि प्रयोग गर्ने ।
धान कति किसिमले लगाउन सकिन्छ ?
धान तिन किसिमले लगाउन सकिन्छः (१) हिल्याएर बेर्ना रोप्ने (२) पाखो जमिनमा धानको बीउ छर्ने र (३) जमिन हिल्याएर बीउ छर्ने (छरुवा धान) ।
धान खेतीको लागि उपयुक्त माटोको पि.एच. कति हो ?
धान खेतीको लागि माटोको पि.एच ६.५ देखि ७.५ उपयुक्त मानिन्छ ।
धान खेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
धान खेती बलौटे माटो बाहेक सबै प्रकारको माटोमा गरिन्छ । यसो भएता पनि पाँगोको मात्रा बढी भएको चिम्ट्याइलो दोमट मलिलो माटो राम्रो हुन्छ ।
बीउ उम्रनको लागि माटोमा न्युनतम तापक्रम कति आवश्यक हुन्छ ?
बीउ उम्रनको लागि माटोमा न्युनतम १० देखि १५ डिग्री सेन्टिग्रेड (डि.से.) तापक्रम आवश्यक हुन्छ ।
नेपालको तराइ तथा भित्री मधेशको लागि उपयुक्त धानका बर्णशंकर जातहरु के के हुन् ?
तराई तथा भित्री मधेशको लागि पन्जिकृत धानका बर्णशंकर जातहरुः डि.वाई १८, डि.वाइ ६९, यु.एस. ३१२, एराईज ६४४४, गोरखनाथ ५०९ ।
हाईब्रिड धानका जातहरु भन्नाले के बुझिन्छ ?
दुई भिन्न आनुवांशिक श्रोत भएका धानहरु विच क्रस गराएर निकालिएको प्रथम पुस्ताको धानका जातहरुलाई हाईब्रिड धान भनिन्छ ।
हालै मध्य पहाड र तल्लो पहाडको लागि सिफारिश गरिएको जात के हो ?
खुमल ८ धानको जात मध्य पहाड र तल्लो पहाडको लागि बि.सं २०६३ सालमा सिफारिश गरिएको हो ।
खुमल १० धानको जातको बिशेष गुणहरु के के छन् ?
पाक्ने अवधिः १३६ दिन, औसत उचाई १०५.८ से.मी, उत्पादकत्व ४७७८ के.जी. प्रति हेक्टर।६० दिनसम्मको बेर्ना रोप्दा पनि राम्रो उत्पादन लिन सकिन्छ । असिन्चित क्षेत्रहरुको लागि उपयुक्त र छरुवा धानको रुपमा पनि खेति गर्न सकिने जस्ता गुणहरु रहेका छन् ।
खुमल १० धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?
काठमाण्डौ उपत्यका र सो सरहको हावापानी भएको पहाडी क्षेत्रको लागि सिफारिश गरिएको छ।
पोखरेली जेठोबुढो धानको जात कुन क्षेत्रको लागि सिफारिश गरिएको छ ?
यो बर्षे धान पोखरा उपत्यका र यस आसपासका क्षेत्रहरु (६०० देखि ९०० मिटर उचाई) को लागि सिफारिस गरिएको हो ।
जुम्ला वा सो सरहको क्षेत्रको लागि सिफारिस गरिएको धानका जातहरु के के छन् ?
चन्दननाथ १, चन्दननाथ ३ धान जुम्ला वा सो सरहको हावापानी हुने क्षेत्रको लागि सिफारिस गरिएको छ ।
हर्दिनाथ १ धानको जात कस्तो बाली प्रणालीमा लगाउन सकिन्छ ?
धान˗धान˗बाझो, धान˗गहुँ˗ मकै, धान˗मकै˗धान, धान˗आलु˗प्याज, धान˗गहुँ˗धान । हर्दिनाथ १ धान कस्तो क्षेत्रको लागि सिफारिश गरिएको हो
तराई, भित्री मधेश, रिभर बेसिन तथा ८०० मिटर सम्मको उचाईको लागि सिफारिश गरिएको हो।
हर्दिनाथ १ धानको बिशेष गुणहरु के के छन् ?
छोटो पाक्ने अवधि (१०० देखि ११०) दिन, होचो (१०० देखि १०५ से.मी.) र उत्पादकत्व ४२०० के.जी. प्रति हेक्टर दिन सक्ने जस्ता गुणहरु रहेका छन् ।
तराई क्षेत्रको लागि चैते धानको जातहरु के के छन् ?
हर्दिनाथ १, चैते धान २, चैते धान ४, चैते धान ६, बिन्देश्वरी र सि.एच. ४५ जस्ता जातहरु चैते सिजनमा लगाउन सकिने जातहरु हुन ।
बाढी आउने वा पानी बढी हुने जग्गाको लागि धानको कुन कुन जात उपयुक्त हुन्छ ?
स्वर्णा सब १, सावा सब १ जस्ता धानका जातहरु बाढी आउने तथा पानी जम्ने वा बढी हुने ठाँउका लागि उपयुक्त हुन्छ । यो धानको बेर्ना १० देखि १५ दिन सम्म पानीले डुबाउदा पनि मर्दैन ।
तराईको लागि सुख्खा सहन सक्ने धानका जातहरु के के सिफारीश गरिएका छन् ?
तरहरा १, हर्दिनाथ २, सुख्खा धान १, सुख्खा धान २, सुख्खा धान ३, सुख्खा धान ४, सुख्खा धान ५, सुख्खा धान ६ लगायतका धानका उन्नत जातहरु सिफारीस गरिएका छन् । जनहितमा कृषि विकास शाखा, उदयपुरगढी गाउँपालिका उदयपुरगढी उदयपुर ।