उदयपुर । गएको आर्थिक वर्ष रौतामाई गाउँपालिकाले मुकुर्ची पुवाँरे सडकमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटले ग्रवेल ग¥यो । ठूला–ठूला ढुंगा प्रयोग गरिएकाले सडकमा कुद्ने सवारीले धेरै सास्ती खेप्नु पर्यो । त्यो पनि एक वर्ष नपुग्दै उक्किएर गयो ।
केही दिन अघि सडकको ग्रबेल देखाउँदै ट्याक्टर चालक राम मगरले भन्नुभयो, ‘यो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतको बजेटले बनाइएको ग्रबेल हो । अहिले उक्किएर गइसकेको छ । सुरु सुरुमा चारपाङ्ले साना सवारी साधान र मोटरसाइकल कुदाउन हम्मेहम्मे पर्ने गर्दथ्यो ।’ उक्त ग्रबेल हेर्दा, प्रधानमन्त्री रोजगार कार्यक्रको हिड्दै छ, पाइला मेट्दै छ, भन्दा फरक नपर्ने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरले दैनिक ज्यालको रुपमा सरकार दर रेट अनुसार पाँचसय ७७ पाउँछन् । चालु आर्थिक वर्षमा पनि उदयपुरका आठै पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएको छ ।
सबै पालिकामा एकै प्रकृतिका एउटै काम रहेका छन् । सरसफाई, सडक मर्मत तथा स्तर उन्नती, खानेपानीको पाइप विस्तार, ढल नाला निर्माण, विद्यालय तथा मन्दिर गुम्बामा पर्खा लगाउने काम भइरहेको पालिकाका रोजगार संयोजकहरुको भनाइ छ ।
कुन पालिकामा कति बजेटमा कतिले रोजगार पाए ?
बेलका नगरपालिकाकी रोजगार संयोजक विमला थापाका अनुसार बेलकामा एक करोड ४३ लाख बजेट रहेको छ । जसमा तीनसय जनाले विभिन्न वडाका स्थानहरुमा सरसफाई, ढल नाला निर्माण, घोरेटो सडक खन्ने काम गरिरहेका छन् ।
यसैगरी चौदण्डीगढी नगरपालिकाका रोजगार संयोजक अर्जुन बस्नेतका अनुसार ४६ लाख ४२ हजार बजेट रहेको छ । जसमा एकसय ६६ जनाले रोजगार पाएका छन् । कामको प्रकृति बेलकाको जस्तै छ । यसैगरी त्रियुगा नगरपालिकामा दुई करोड ४२ लाख ६२ हजार रुपैँया बजेट छ । जसमा चारसय १० जनाले रोजगारी पाएका छन् ।
यता कटारी नगरपालिकाका रोजगार संयोजक विनोदकुमार धमालका अनुसार ७० लाख बजेट रहेको छ । जसमा एकसय ४८ जनाले रोजगारी पाएका छन् । कटारीमा पनि सडक मर्मत, ढलनाला मर्मत, घोरेटो बाटो बनाउने काममा प्रयोग गरिएको छ ।
रौतामाई गाउँपालिकामा ५४ लाख ९२ हजार बजेटमा ४७ जनाले यसपालि रोजगार पाएका छन् । कामको प्रकृति एउटै छ । लिम्चुङबुङमा १४ लाख ७७ हजार १५७ बजेटमा ४५ जनाले रोजगार पाएका छन् ।
उदयपुरगढी गाउँपालिकामा ७२ लाख बजेटमा एकसय २३ जनाले रोजगारी पाएका छन् । यता ताप्ली गाउँपालिकामा ५३ लाख ३२ हजार बजेटमा ९२ जनाले रोजगारी पाएका छन् ।