कटारी । वर्षभरि खान पुग्ने धान, मकै, कोदो लगायतका खेती छाडेर व्यवसायीक रुपमा अकवरे सुर्खानी उत्पादनमा लागेका किसानलाई बजारको चिन्ताले पिरोल्न थालेको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी र १३ मयाँखुमा व्यवसायिक रुपमा अकवरे खुर्सानी खेतीमा लागेका किसानलाई बजारको चिन्ताले पिरोल्न थालेको हो ।
अघिल्लो वर्ष अकवरे खुर्सानीको खेती गरेर एक–ढेडसय किसानले एक वर्षमा प्रतिघर झण्डै तीनदेखि चारलाख आम्दानी गरेका थिए । त्यही देखेर दुईवटा वडाका झण्डै दुईहजार किसानले यसवर्ष अकबरे खुर्सानीको खेती गरेको कटारी नगरपालिका–११ गोठडाँडाका कृषक गोपाल राउत बताउनु हुन्छ । राउत भन्नुहुन्छ, ‘यस पटक अकवरे खुर्सानको खेती गर्नेको संख्या झण्डै दुईहजार घरभन्दा माथि रहेका छन् । उत्पादन बढ्ने भयो, कहाँ लगेर बेच्नु ? समस्या हुने भएको छ ।’
नगदेबालीमा अदुवा खेती गर्दै आएका यस क्षेत्रका किसान गएको वर्षदेखि खुर्सानी खेतीमा आर्कषित भएका छन् । राउत भन्नुहुन्छ, ‘धान, मकै, कोदो, भटमास लगायतका खाद्यन्न बाली फल्ने खेतभरी अकवरे खुर्सानीको खेती छ । बिक्री भएन भने गाउँमा भोकमरी चल्ने देखिन्छ ।’
पछिल्लो समय उदयपुरको पहाडी क्षेत्रमा अकबरे खुर्सानी आम्दानीको स्रोत बन्दै गएको छ । गएको वर्ष कटारी नगरपालिका–११ का किसानले प्रतिकिलो रु दुईसय पचास दरले बिक्री गरेका थिए । अर्का स्थानीय कृषक ज्ञानबहादुर बस्नेत भन्नुहुन्छ, ‘अघिल्लो वर्ष जिल्लाकै कटारी बजार, गाईघाट, घुर्मी लगायतका बजारमा यहाँको अकबरे विक्री भएको थियो ? यस पटक उत्पादन धेरै हुने भएको छ ? कहाँ लगेर बेच्ने यही चिन्ता छ ।’
किसानलाई ठूलो परिमाणमा उत्पादन हुने भएपछि बजारको चिन्ता बढेको छ । कृषक बस्नेत भन्नुहुन्छ, ‘यसपटक यस क्षेत्रमा झण्डै ७० टनभन्दाबढी अकबरे खुर्सानी उत्पादन हुने मेरो अनुमान छ ।’
अघिल्लो वर्ष अकवरे खुर्सानीको खेती गर्ने किसानले राम्रो आम्दानी गरेको देखेर यस वर्षभरि खान पुग्ने अन्न उत्पादन हुने सबै जग्गामा खुर्सानी खेती गरेका छन् ।
यसैगरी अर्का स्थानीय जानबहादुर राउतले गएको वर्ष अकवरे खेतीबाट ६ लाख आम्दानी गरेर ७ रोपनी जग्गा किनेका बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसपटक भएजति सम्पूर्ण जग्गामा अकबरे खुर्सानी खेती गरेर वार्षिक १५ लाख कमाउने योजनामा छु, विक्री भएन भने तनाव हुनेछ ।’
अहिले त्यस क्षेत्रबाट काँचो अकबरे प्रतिकिलो रु दुईसय र पाकेको प्रतिकिलो तीनसयले विक्री भइरहेको छ । कटारी नगरपालिकाका कृषि शाखा प्रमुख एलिका मगरले कटारी नगरपालिका वडा नम्वर ८, ९, १० ११ र १३ मा व्यवसायीक अकबरे खुर्सानीको खेती हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठूलो परिमाणमा कटारी ११ र १३ नम्वरमा रहेको छ । अन्य ठाउँमा विस्तार हुँदै गएको छ । यता जिल्लको बेलका नगरपालिका, रौतामाई गाउँपालिका लगायतका क्षेत्रमा अकवरे खुर्सानीको खेती हुँदै आएको छ ।