काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) आगामी प्रतिनिधिसभा र प्रदेशसभा तयारीमा जुटेको छ ।
स्थानीय तह निर्वाचन र जिल्ला समन्वय समितिमा कमजोर परिणाम बेहोरेको एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी आन्तरिक गृहकार्यमा जुटेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । अध्यक्ष ओलीको निर्देशनसँगै पार्टीको विभिन्न तहको बैठक बस्ने र आगामी रणनीति’ केन्द्रित भएर छलफल सुरु भएको छ ।
‘अध्यक्ष कमरेडले स्थानीय चुनावमा घेराबन्दीका बाबजुद पार्टीले लोकप्रिय पहिलो मत प्राप्त गरेकाले त्यसमा उभिएर आगामी निर्वाचनबाट बहुमत प्राप्त गर्नेगरी काममा खट्न निर्देशन दिइसक्नुभएको छ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन् ।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचन’समीक्षासहित आगामी निर्वाचन’ छलफल भएको छ । महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू रहने एक केन्द्रीय कार्यालय रहेको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव र सचिवहरूको सहभागिता रहेको थियो ।
सो बैठक सम्पन्न भएसँगै सोमबार केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासँंगै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन’ छलफल हुने उपाध्यक्ष शाक्यले राजधानीलाई बताइन् ।
एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विगतको निर्वाचनभन्दा पालिकामा सत्तारूढ पाँच दलीय गठबन्धनसँग हार बेहोरेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत पाँच दलीय गठबन्धन कायम नै रहने भएपछि कसरी निर्वाचनमा विजयी हुने भन्ने’मा छलफल सुरु भएको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनअघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।
‘गठबन्धन टुटाउन बल गर्नुपर्यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्,’ ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छैन ।’
स्थानीय तह निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा पालिकाको संख्या घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।
पाँच दलीय गठबन्धन भए पनि ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनेगरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले स्रोतका अनुसार आगामी निर्वाचनमा मधेसवादी लोकतान्त्रिक पार्टी नेपाल (लोसपा)लगायतसँग चुनावी तालमेल’ छलफलसमेत भइरहेको छ ।
लोसपा स्रोतका अनुसार एमाले र पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसले समेत आगामी निर्वाचनमा चुनावी तालमेलका लागि प्रस्ताव गरेको छ । तर, आफूहरूलाई जसले बढी सिट दिन्छ उसैसँग चुनावी तालमेल गर्ने लोसपा नेताहरू बताउँछन् ।
पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्रयाउन पटकपटक छलफल गर्दै आएका छन् । तर, गठबन्धन गर्ने’ मा टुंगो लाग्न सकेको छैन । उक्त समाचार राजधानी दैनिकमा प्रकाशित छ ।