उदयपुर । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा उदयपुरका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका किसानहरुलाई यस वर्षपनि धानखेतीका लागि पनि मल अभाव भएको हो ।
धान रोप्दा छर्ने डिएपी र युरिया मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको उदयपुर कटारी–२ का अगुवा कृषक सर्पुलाल अधिकारीले बताउनु भयो ।
पानी परे पछि मकैमा युरिया हाल्नु पर्ने भए पनि समयमा मल पाउन नसकेपछि उत्पादनमा ह्राँस आउँदा किसानलाई समस्या भएको उहाँले बताउनु भयो । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि युरिया मल पाउन नसकेको उहाँको भनाइ छ ।
जिल्लाका लागि धान रोप्ने सिजनमा एक हजार टन युरिया ५ सय टन डिएपी मलको आवश्कता पर्ने कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यलय गाईघाटले जनाएको छ । गाईघाट शाखाका प्रमुख सन्तोष यादवले बैशाख दोश्रो हप्ता २ सय टन प्रदेश सरकार बाट डिएपी मल आयत गरि पालिका अन्तरगतका कृषी सहकारी मार्फत कोटामा छुट्टिएको मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराएको बताउनु भयो ।
तर सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्दा किसानले भने मल पाउन सकेका छैनन् । यता कृषि सामग्री कम्पनी लिमिडेट शाखा गाईघाटबाट वर्सेनी औसतमा एकहजार ८७६ मेट्रिकटन युरिया, डिएपी र पोटास किसानले पाएका छन् । १२ हजार मेट्रिकटनभन्दा बढी युरिया, पोटास र डिएपी प्रयोग हुने उदयपुरमा कृषि सामग्री कम्पनी लिमिडेटले एकहजार ८७६ मेट्रिकटन मात्र उपलब्ध गराएको देखिन्छ ।
कृषि विकास कार्यालयका अनुसार उदयपुरमा धान, मकै, कोदो, तरकारी, आलु, मसला, तोरी दाल तथा विभिन्न प्रकारका खाद्यन्न तथा नगदे वालीमा कृषकले रसायनिक मलको प्रयोग गर्दै आइरहेका छन् ।