उदयपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरमा गठबन्धनमा आबद्ध दलहरु मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णयमा पुगेका छन् । जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले शुक्रबार एक बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको हो ।
गठबन्धनमा आवद्ध दलहरुमा नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेकपा (माओवादी केन्द्र) उदयपुरका जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवाल (दिवस), नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणी पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जामगर, कैलाश राई सहितको उपस्थितिमा आगामी स्थानीय तहको निर्वाचनमा अधिकतम लचकताका साथ चुनावी तालमेल गर्ने निर्णय गरेको गरेको जनाइएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु सकेसम्म मिलेर जाने सहमति मात्र भएको नेपाली काङ्ग्रेस उदयपुरका जिल्ला सचिव मुरारी खड्काले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनमा आवद्ध दलहरुबीच सहकार्य र सहमतीको लागि हिजो (शुक्रबार) छलफल भएको छ ।’ उहाँले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु परेको खण्डमा स्थानीय आवश्यकता, औचित्यको आधारमा मात्र हुने बताउनु भयो ।
यसैगरी माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवशले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु तालमेल गरेर चुनाव लड्ने निर्णय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रको निर्देशन अनुसार उदयपुरमा पनि गठबन्धन हुँदा राम्रो हुन्छ, बैठकले पनि गठबन्धन गरेर मात्र निर्वाचनमा जाने निर्णय गरेको छ ।’
स्थानीय निर्वाचनबारे सैद्धान्तिक सहमति जुटे पनि भागबण्डा नभइसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष राममणी पोखरेलले बताउनु भयो । ‘पाँच दल विच अधिकतम लचकताका साथ गठबन्धन गर्ने निर्णय गरियो र बैठकमा पार्टीका प्रतिनिधिहरुबाट आ–आफ्नो पार्टीको बस्तुगत स्थिति समिक्षाको साथै प्रारम्भिक छलफल भएको छ ।’ उहाँले भन्नुभयो ।
गठबन्धनको आगामी बैठक चैत्र २६ गते बस्ने र प्राविधिक सहमति जुट्न साथ उम्मेदवारको बाँडफाँट हुने बताइएको छ । केन्द्रमा गठबन्धन सहमति नभए पनि आफूहरु जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरुको भनाइ छ । अघिल्लो निर्वाचनमा ८ स्थानीय तहमध्ये ६ वटामा नेकपा एमालेले जितेको थियो । एक/एक पालिकामा नेकपा माओवादी र नेपाली काँग्रेसले जितेका थिए ।
यस्तै बेलका नगरपालिकामा पनि नेपाली काँग्रेसका नेता अशोक कार्कीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी बेलकाको अध्यक्ष नबराज भट्टराईले बताउनु भयो ।
बेलकामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ । यसैगरी गठबन्धनमा आवद्ध दलहरुले प्रत्येक पालिकामा छलफल जारी छ । लिम्चुङबुङ, ताप्ली, रौतामाई गाउँपालिकामा गठबन्धनले चुनावी तालमेल गरेर चुनाव लड्ने निर्णय गरिसकेको छ । यता उदयपुरगढी गाउँपालिकामा गठबन्धनको बैठक जारी रहेको छ ।
त्रियुगा नगरपालिकामा पनि गठबन्धनको बैठक बसेको त्रियुगा नगरपालिका नेपाली कांग्रेस सभापति प्रकाशकुमार खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गठबन्धनमा आवद्ध दलहरुबीच सहकार्य, समन्वय गरेर अघि बढ्ने निर्णय गरेका छौँ ।’ कटारी र चौदण्डीगढी नगरपालिकामा पनि पालिका स्तरीय गठबन्धनको बैठक बसेको जानकारी दिइएको छ ।