उदयपुर । उदयपुरमा निर्माणाधीन मदन भण्डारी स्मृति सभाहलमा बजेट अपुग भएको छ । विस्तृत अध्ययन नै नगरी डिजाइन इस्टिमेट बनाउँदा ३० करोड बजेट अपुग भएको हो । भवनको लागत स्टमेट ३४ करोड रहेकामा २४ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।
इस्टिमेटअनुसार काम गर्दा आधा मात्र काम भएको निर्माण गरिरहेको रविना/जोशी/पवित्र जेवीका सञ्चालक केदार दाहालले बताए । ‘सम्झौताअनुसार हामीले अधिकांश काम सकेका छौं । जगदेखि नै इस्टिमेट त्रुटि छ । टाईविङ छ, फिलिङ गर्ने इस्टिमेट छैन, ट्रष्ट, ह्युमपाइप सबैमा त्रुटि छन्,’ उनले भने, ‘एकतिहाइ बजेटको त इस्टिमेट नै छैन । अनी कसरी काम पूरा हुन्छ ?’
भवन सम्पन्न गर्न अझै ३० करोड बढी बजेट आवश्यक पर्ने निर्माण कम्पनीका इन्जिनियर निरज कर्णले बताए । ‘हामीले सुरुमै डिजाइनको कमजोरी सुधार्न कार्यालयलाई सुझाव दिएका हौं,’ कर्णले भने, ‘कार्यालयले कमजोरी स्वीकार्यो तर सुधार गरेन । ५ वटा ब्लकको स्ल्याब लगाउने, छानाको ट्रस, अतिथि कक्ष, घेराबेरा, गार्डेनलगायत काम बाँकी नै रहेको उनले बताए ।
ठेकेदार कम्पनीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना राजविराजलाई पत्र पठाइ निर्मणस्थलबाट क्याम्प उठाउने जानकारी गराइसकेको छ । पत्रमा ट्रस, स्ल्याबलगायत काम नगरी विद्युतीय उपकरण जडान गर्न नमिल्ने उल्लेख छ । २४ करोड ७१ लाख भुक्तानी लिइसकेको व्यवसायी दाहालले बताए । २ हजार क्षमताको सभाहल त्रियुगा–१३ मा निर्माणाधीन छ ।
२०७४ वैशाखमा भएको ठेक्का सम्झौताअनुसार काम सकिएको वर्षदिन बित्दासमेत थप बजेट व्यवस्था नहुँदा भवन अलपत्र परेको हो । यता सघन सहरी विकास राजविराजका प्रमुख सचिन्द्रकुमार देव भने सम्झौताअनुसार भवन लगभग बनिसकेको बताउँछन् । ट्रसलगायत काम मात्र बाँकी रहेको बताए । कुल लागतको २५ प्रतिशत भिओ गरे भवनको काम सक्न बजेट पुग्ने प्राविधिक अनुमान छ ।
तर, त्यसको अधिकार मन्त्रालयका सचिवलाई मात्र हुने उनले बताए । कार्यालयले प्राविधिक इस्टिमेट बनाएर २५ प्रतिशत भिओ गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको देवको भनाइ छ । इस्टिमेटमा कमजोरी भएको देवले पनि स्वीकारे । ‘इस्टिमेटमा कमजोरी भएको रहेछ, सुधार गर्दैछाैँ’ उनले भने ।
२ बिघा क्षेत्रफलमा अवस्थित सभाहलमा व्यवस्थित पार्किङ, पुरुष–महिला र अपांगमैत्री शौचालय, अतिथि सदन, चमेना गृह, कर्मचारी आवास हुने इस्टिमेटमा छ । १ हजार ५ सय क्षमताको ठूलो र ५ सय क्षमताको सानो गरी २ वटा सभाकक्ष हुनेछन् । भूमिगत पार्किङ, फूलबारी र पश्चिमतर्फ मुख्य प्रवेशद्वार तथा बाँकी दिसातर्फ वहिर्गमनद्वार हुने इस्टिमेट छ ।
सरकारले ०७२/७३ मा देशभरका २५ नगरपालिकालाई ‘स्मार्ट सिटी’ घोषणा गर्दा उदयपुरको त्रियुगा नगरपालिका पनि समेटिएको थियो । प्रदेशस्तरीय सभा भवन, ‘एक नगर एक पहिचान’ कार्यक्रम, अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क बनाउने योजनासहित अघि सारिएको तत्कालीन सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले बताइन् । त्यसपछि भने यो भवनलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ । उक्त समाचार अन्नपूर्ण पाेस्टमा उदयपुरबाट भरत खड्काले लेख्नु भएकाे छ ।