उदयपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ उदयपुरले ५० प्रतिशत अनुदानमा किसानलाई विभिन्न उपकरण वितरण गरेको छ । कृषिलाई व्यावसायिक तथा यन्त्रीकरण गर्ने उद्देश्यले उदयपुरका किसानलाई ६० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको हो ।
प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ उदयपुरले जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा यन्त्रीकरण सामग्री वितरण गरेको हो । परियोजनाको आव ०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा परियोजनाको क्षेत्राधिकारभित्रका किसानलाई ६० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन इकाइ उदयपुरका सूचना अधिकारी उत्तम पोखरेलले बताउनुभयाे ।
पोखरेलका अनुसार ५५ वटा समूह र सहकारीले अनुदान प्राप्त गरेका छन् । वितरण गरिएका सामग्रीमा १ थान ट्रयाक्टर, १ थान पावर टिलर, २५ थान मिनिटिलर, २९ थान कम्बाई मिल, १ थान विडर, भन्याङ ३ थान, फुड स्प्रेर ६ थान, तौल मेसिन ५ थान, क्रेट २६५ थान, थ्रेसर २ थान, मकै गोड्ने मेसिन १ थान, चार्जिङ स्प्रेयर १ थान गरी विभिन्न कृषि सामान वितरण गरिएको हो ।
किसानलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले सामान हस्तान्तरण गर्नुभएकाे थियाे । चौदण्डीगढी नगरपालिका वडा नम्बर १ का जीवन बहुउद्देश्यीय कृषि फर्मले पाइप सिँचाइ कार्यक्रम, कम्बाइन मिल कार्यक्रम २ थान पाएको छ ।
यस्तै, चौदण्डीगढी वडा नम्बर ८ दूधकोसी बहुउद्देश्यीय कृषि फर्मलाई बिउ स्रोत केन्द्रका लागि २२ लाख रुपैयाँ बराबरको बजेट अनुदान दिइएको छ । ८ वटा चक्लाबन्दीमा सोही वडाका दूधकोसी बहुउद्देश्य कृषि फर्मले ६ लाख ३५ हजार रुपैयाँ कार्यक्रमसमेत परेको कृषि प्राविधिक प्रमिला राईले बताउनुभयाे ।
यस्तै, चाम्लिङ बहुउद्देश्य कृषि फर्मलाई साना सिँचाइ कार्यक्रम पनि परेको छ । जिल्लाभरिकै व्यावसायिक किसानलाई आवश्यक कृषि उपकरण वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उदयपुरले जनाएको छ ।