कटारी । उदयपुरको कटारी नगरपालिका ६ र ७ नम्वर वडा जोड्ने बैजनाथ खोलामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदलयपुरले अस्थायी सडक र पुल निर्माण गरेको छ ।
पार्टीले संगठन विस्तारका क्रममा सोही क्षेत्रमा जनताको समस्याको रुपमा रहेको बैजनाथ खोलामा अस्थायी पुल र सडक निर्माण गरेको हो । वडा नम्बर ६ र ७ वडा बीच भएर बग्ने बैजनाथ खोलामा वषौँदेखि पुलको समस्या छ । सोही पुलको समस्या भएको स्थानमा नेकपा उदयपुरले अस्थायी पुल निर्माण गरेको जानकारी दिइएको छ ।
संसदीय व्यवस्था असफल भएको निष्कर्षसहित वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमतसंग्रहको नारासहित संगठन विस्तारमा रहेको विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय जनताको मन जित्ने प्रयास गरिरहेको छ ।
उदयपुरका सरकारी कार्यालयदेखि सडकसम्म कुचो लगाएर सरसफाइ अभियान चलाएको पार्टीले बैजनाथ खोलामा ह्युमपाइपसहितको कच्ची पुल निर्माण गरिरहेको हो । उदयपुर संगठन कमिटीको अगुवाइमा कटारी नगरपालिका वडा नम्बर ६ र ७ मा पर्ने सोमबारेस्थित बैजनाथ खोलामा ह्युमपाइपसहितको कल्भर्ट निर्माण गर्दै स्थानीयलाई सहज बनाइदिएको हो ।
स्थानीयले खोला तर्न पुल अभाव झेलिरहेका बेला अस्थायी पुल बनाएको जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताउनु भएको छ । उहाँका अनुसार स्थानीयलाई विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, बजार आउजाउ गर्न समस्या भएको देखिएपछि खोलामा अस्थायी पुल निर्माण गरिएको उहाँको भनाइ छ ।
पार्टीले आफ्नै प्रयासमा स्रोत जुटाएर खोलामा दुई वटा ह्युमपाइप बिछ्याएर दायाँबायाँ बालुवा, गिटी पुरेर कच्ची सडक निर्माण गरिएको पार्टी जिल्ला सेक्रेटरी पौड्यालले बताउनुभयो । उनका अनुसार खोलाकै ढुंगा, गिटी र बालुवा पुरेर २ सय मिटर लम्बाइ र ५ मिटर चौडाइको कच्ची सडकसहितको कल्भर्ट निर्माण गरिएको छ ।
त्यसका लागि १५ घन्टा जेसिबीको प्रयोग भएको छ भने पौड्यालसहित २१ नेता कार्यकर्ताले श्रमदान गरेका थिए । वडा कार्यालय र नगरपालिकालाई पटक– पटक पुल बनाउन आग्रह गर्दा पनि जनप्रतिनिधिले नटेरेपछि पार्टीले नै निर्माणमा अग्रसरता लिएको उहाँको दाबी छ ।
खोलामा पुले अभावमा वडा नम्बर ७ को रिस्कुमा पर्ने जनप्रेमी माविमा अध्ययनरत विद्यार्थीलाई बिहान–बेलुका खोल तरेर आउजाउ गर्नुपर्ने बाध्यता छ । दुवै वडाबासीका लागि रिस्कुमै निर्मित प्रहरी चौकी र स्वास्थ्य चौकी जान पनि सेवाग्राही बैजनाथ खोला तर्नुपर्छ । दीर्घकालीन समाधानका लागि पुल निर्माण नै अन्तिम विकल्प भएको वडासचिव कृष्णप्रसाद निरौलाले बताउनुभयो ।