काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा ६३१ ले बढी हो ।
उपत्यकाका तीन जिल्लामा बुधबार एक हजार ५३८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५१ को पीसीआर र तीन हजार ९८५ को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमणदर २७ प्रतिशत छ ।
यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् । सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले बताउनुभयो ।
पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उहाँले बताउनुभयो । पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”