उदयपुर । नेकपा एमाले उदयपुरको जिल्ला अभियानको लागि २० रुपैँयाको अभियान सुरु भएको छ । एमाले उदयपुरले ८ औँ जिल्ला अधिवेशनको खर्च जुटाउनको लागि संगठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर २० रुपैँया अभियान सुरु गरेको हो ।
अधिवेशन तयारीका सन्र्दभमा शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष इश्वरमणि राउतले खर्च व्यवस्थापनका लागि प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने गरी अभियान सुरु गरिएको बताउनु भएको छ । ‘अधिवेशन भन्नसाथ खर्च जोडिन्छ, उहाँले भन्नुभयो, ‘सधै उहीँ कार्यालय, उहीँ दातासँग माग्दा पार्टी प्रति नकारात्मक दृष्टिकोण जाने भएकाले यसपटक फरक शैली अपनाएका हौ ।
उदयपुर एमालेमा ८ हजार ४४५ जना संगठित सदस्य छन् । संगठित सदस्यबाट मात्र १ लाख ६८ हजार ९०० रुपैँया संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागि हुने जानकारी दिइएको छ । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसबाट ७ लाख रुपैँया जम्मा हुने अध्यक्ष राउतको भनाइ छ । यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुबिधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय राउतले जानकारी दिनुभएको छ ।
जिल्लामा तीन जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख २ जना, नगरपालिकाका मेयर र उपमेयर २=२ गरी ४ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २=३ गरी ५ जना रहेका छन् । त्यसैगरी ८ वटा स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा १६९ जना एमालेका जनप्रतिनिधि रहेका छन् । त्यसमध्ये २६ जना वडाध्यक्ष रहेका छन् । सबैसँग एक महिनाको सुबिधा माग गरिएको अध्यक्ष राउतले बताउनुभएको छ ।
सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको एमालेले उदयपुरको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य तथा जिल्ला इन्र्चाज मन्जुकुमारी चौधरीले भावनात्मकरुपमै एमाले एक ढिक्का भएको बताउनु भएको छ । उहाँले एमाले माथि भएको चौतर्फी आक्रमण रोक्नपनि यो पटकको अधिवेशन सर्वसहमत हुने विश्वास व्यक्त गर्नु भएको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिब १=१ र दुई उपसचिब गरी १०५ जनाको जिल्ला कमिटी छनौट गर्ने एमाले उदयपुरका सचिब परमेश्वर घिमिरेले बताउनु भएको छ । उहाँले पार्टी यो बेला संकटको घडीमा रहेकाले सर्वसहमत नेतृत्व चयन गरी मजवुद बनाउने गरी नेता कार्यकर्ता लागि परेको पनि बताउनु भएको छ ।
एमाले उदयपुरले आठौँ जिल्ला अधिवेशनको लागो सार्वजनिक
एमाले उदयपुरले आठौँ जिल्ला अधिवेशनलाई लक्षित गरी तयार गरेको लोगो सार्वजानिक गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको भौगोलिक अवश्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई समेटेर तयार पारेको लोगो सार्वजानिक गरेको हो । लोगोको सबैभन्दा माथि पार्टीको चुनाव चिन्ह सुर्य, त्यसमुनी हसिया हतौडा अंकित झण्डा रहेको छ ।
त्यसैगरी लोगो भित्र विशेषगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रौतापोखरी, देशकै सबैभन्दा ठुलो उदयपुर सिमेण्ट उद्योग, जिल्लाकै सबैभन्दा अग्लो ठाउँ चित्रेथान टावर, सबै जातजातिलाई समेटेर तयार पारेको कटारीको भुगोलपार्क, धार्मिक आश्था बोकेको त्रियुगा नदी, सेन वंशले राज्य गरेको चौदण्डिगढी दरवार, सप्तकोसीमा सञ्चालित जेटवोट, धार्मिक आश्थाको केन्द्र राधाकृष्ण मन्दिरका तस्विरहरु राखिएका छन् ।