धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गर्नु भएकाे छ ।
मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएकाे हाे । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गर्नु भएकाे हाे । शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमा लाग्नुभएका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्याे ।
आफुले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुंगानाले सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गर्नु भएकाे छ । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिव पदमा दाबी पेश गर्न चाहन्छु,’ नेता ढुंगानाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘मैले चार दशक लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको उचित मुल्यांकन गरेर सबै कमरेडहरुले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’
यसअघि धनकुटाकै नेता हेमराज भण्डारी प्रदेश सचिव हुनुहुन्थ्याे । प्रदेश अध्यक्ष दावी गर्दै आएका भण्डारी पछि हटेपछि जिल्ला संयोजक ढुंगानाले प्रदेश सचिवमा दावी प्रस्तुत गर्नुभएकाे हाे । नेता ढुंगानाले कुनैपनि हालतमा आफु पछि नहट्ने दावी गर्नु भएकाे छ । गत शनिवार मोरङको विराटचौकमा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनले प्रदेश समितिका २५९ जना सदस्य सर्वसम्मत चयन गरेको छ । गैर भूगोलबाट १ सहित धनकुटाका १४ जना सदस्यमा परेका छन् । तर, आकाक्षी बढी हुँदा पदाधिकारीको टुंगो लाग्न भने सकेको छैन ।
अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सह–सचिव र एक कोषाध्यक्ष गरी नौ सदस्यीय पदाधिकारी छान्नुपर्नेछ । पुस ७ गतेसम्म पदाधिकारीको टुंगो लगाउँन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले सहमतिको प्रयास गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।
अध्यक्ष दाबी गर्नेकाे संख्या ६ पुग्याे
पदाधिकारी चयनका लागि माओवादीको प्रदेश समितिको दोस्रो बैठक आगामि पुस ७ गते विराटनगरमा बस्दैछ । यस अघि बैठकमा प्रदेश १ अध्यक्षकाे दाबी गरिरनु भएका केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले भने गएकाे बुधबारको बैठकमा आफ्नो दावेदारी फिर्ता भएको जानकारी दिनु भएकाे छ ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोडेपछि सुनसरीका सह–इन्चार्ज रहेका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका सह–इन्चार्ज रहेका हर्कबहादुर नेम्वाङ, झापाका संयोजक मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की, उदयपुरका नेता माेहनबहादुर खत्री उर्फ दिपक तथा हेनरीले अध्यक्षको दाबी गरेका छन् । अब प्रदेश अध्यक्षको दाबी गर्नेको संख्या ६ पुगेको छ ।
यता माओवादीको उपाध्यक्ष पदका लागि खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गर्नु भएकाे छ । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना)लगायतले आकांक्षा राखेका छन् ।
यस्तै सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले सशक्त दाबी गर्नु भएकाे छ । सचिबमा निर्वाचन भए आफू पनि भिड्ने झापाका सीपी कडरियाको भनाइ छ ।
यस्तै सहसचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । उनले आफू सहसचिवको दाबेदार रहेको बताएका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । हालसम्म नेतृत्वमा खुलेर दाबी गर्नेहरुमा अधिकांश पुरुष रहेका छन् । पदाधिकारी दाबी गर्नेमा ताप्लेजुङका बिजय बनेमसमेत छन् ।