काठमाडाैं । नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष र पदाधिकारी कसलाई बनाउने भन्नेबारे सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो । यद्यपि नयाँ नेतृत्वका लागि २६९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको छ ।
सदस्य पदमा सहमति भइसकेका सदस्यहरुको नाम सोमबार सार्वजनिक गर्ने पार्टी केन्द्रीय सदस्य इन्द्र आङ्बो मौसमले बताउनु भयाे । शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका थियो । तर, नेतृत्वका आकांक्षी धेरै भएर सहमति हुन नसक्दा अधिवेशन लम्बिन पुगेको छ ।
आइतबार रातिसम्म नेतृत्व छनोट गर्नेगरी निर्वाचनको कार्यसूची प्रकाशित भएको थियो । तर, सहमतिको प्रयास गर्ने भन्दै नेताहरू छलफलमा बसेपछि कार्यसूची प्रभावित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश अध्यक्षको दौडमा सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी, ईन्द्रबहादुर आङ्बो र सुदन किराती दौडमा छन् । प्रदेशमा चुनिएका २६९ जना सदस्यले अध्यक्षसहित पदाधिकारी छान्ने नेताहरुले बताएका छन् । अधिवेशनमा प्रदेशभरिका प्रतिनिधि र पर्यवेक्षक गरी झण्डै १५ सय सहभागी छन् ।
प्रदेश अधिवेशनले पार्टीको विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित गर्नेछ । आइतबार राति छानिएका सदस्यको नामलाई लिएर केही जिल्लामा भने असन्तुष्टि रहेको बताइएकाे छ ।
पदाधिकारी पनि सकेसम्म सहमतिबाटै तय गर्ने आङ्बोले जानकारी दिनु भएकाे छ । माओवादीका प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको सदस्यहरू सहमतिबाट टुंगिसकेकाले अब पदाधिकारीको चयनमात्र बाँकी रहेको बताउनु भएकाे छ । उहाँका अनुसार सहमतिकाे लागि छलफल जारी रहेकाे बताइएकाे छ ।
यता नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित हुनु भएकाे छ । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ ।
शनिबार काठमाडौंमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलले गरेका गर्नुभएकाे थियाे । सम्मेलनमा आयोजकसहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।