काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।
कार्यक्रममा जननेता बिपी कोइरालाल, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्बिरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गर्नुभयो । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ । उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो ।
विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन् । महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ । काठमाडौँ उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ । यस्तै, १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।
महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम रहेको छ ।
यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविधेशनलाई सफलताको शुभकामना दिनुहुनेछ । यस्तै, भारतलगायतका देशबाट आएका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निणर्य मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान गरिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
यस्तो छ कांग्रेस महाधिवेशनको इतिहास
कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गतेमा भएको थियो । महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति हुनुभएको थियो । कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित हुनुभएको थियो ।
यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति हुनुभएको थियो । भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बन्नुभएको थियो ।
कांग्रेसको पाँचौँ महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित हुनुभएको कांग्रेसको इतिहास छ । वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैटाँै महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति हुनुभएको थियो भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति हुनुभएको थियो ।
विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा भएको सातौँ महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित हुनुभएको थियो । यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौँमा भएको नवौँ महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौँमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति हुनुभएको थियो ।
कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित हुनुभएको थियो भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौँमै भएको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको हो ।