उदयपुर । गाउँगाउँमा सडक पुगेपछि त्यतिकै खेर जाने इस्कुलले राम्रो मूल्या पाउन थालेकाे छ । सडक नपुग्दासम्म त्यस भेगका किसानहरूले इस्कुललाई गाईबस्तुलाई कुँडो पकाएर दिने गर्थे । तर, अहिले गाउँगाउँमा सडक पुगेपछि इस्कुलले राम्राे मूल्य पाउन थालेकाे छ ।
उदयपुरको रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ, ताप्ली, गाउँपालिका र कटारी नगरपालिकाको वडा नम्बर ९ देखि १४ सम्म त्रियुगा नगरपालिकाको वडा नम्बर १४ देखि १६ सम्म र चौदण्ढीगढी नगरपालिकाको वडा नम्बर १, ८ का किसानले उत्पादन गरेको इस्कुस, करेला खेती अहिले व्यावसायिक रूपमा गर्न थालेका छन् ।
पहाडी क्षेत्रका कृषकले अहिले आफूहरूले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन सुरु गरेका हुन् । भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न सुरु गरेको खाँबुका स्थानीयवासी हीराबहादुर मगरले एक महिना भित्रै ८० हजार रुपैयाँ बराबरको इस्कुस बिक्री गरिसकेको बताउँछन् ।
त्रियुगा नगरपालिका-१४ साउनेका रेखबहादुर मगरले पनि भदौको दोस्राे सातादेखि इस्कुस बिक्री गरेर अहिलेसम्म ५५ हजार रुपैयाँ कमाएकाे बताउनु भयाे । इस्कुस बेचेरै दसैँ खर्चसहित घरका अन्य व्यवहार मिलाउने गरेकाे उहाँले बताउनु भयाे ।
वर्षेनी इस्कुस उत्पादनबाट राम्रो आर्थिक आम्दानी गरेर घर खर्च धान्दै आएका यसक्षेत्रका कृषकले यस पटक पनि दसैँको खर्च टारेका छन् । उत्पादनसँगै इस्कुस बिक्री पनि बढ्दै गएका कारण बिक्रीबाट दसैँतिहारको खर्च धान्दै आएको कृषक बताउँछन ।
यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि इस्कुस खरिद गर्न सिराहा, सप्तरीबाट सदमुकाम गाईघाटदेखि तरकारी व्यापारी घरघर गाडी लिएर आउने गरेपछि अहिले यस क्षेत्रमा उत्पादित इस्कुसले बिक्रीको लागि राम्रो बजार पाएको रौता बोलुङखाका केशब रायमाझि बताउनु हुन्छ ।
इस्कुस बहुवर्षीय लहरे तरकारी अन्तर्गत पर्ने बाली हो । कलिलो फल नै इस्कुसको मुख्य उत्पादन हो । इस्कुसको हरियो मुन्टा, कलिलो फल र जरा (तरुल) तीनवटै उत्पादन तरकारीको रुपमा खाने चलन छ । यसको परिपक्व फलहरु उसिनेर खाजाको रुपमा तथा जाम बनाउनको लागि बढी उपयुक्त मानिन्छ । यसको झ्याङ, फल र तरुल पशुपंक्षीको आहाराको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
इस्कुसका फुलहरुमा प्रशस्त गुलियो रस पाइने हुँदा मौरी चरणको लागि पनि उपयुक्त बाली मानिन्छ । इस्कुस खेतीको लागि न्यानो र ओसिलो हावापानीको आवश्यकता पर्दछ ।
नेपालमा उपलब्ध इस्कुसका प्रकारहरु मध्ये हल्का हरिया रङ्ग भएका, काँडा नभएका वा कम भएका, कुलेसा नभएका वा हल्का गहिरा भएका, रेशा नभएका वा कम भएका आदि स्थानिय जातहरु पाईन्छन् । उदयपुर पनि इस्कुस उत्पादनकाे लागि राम्राे मानिन्छ ।