पुण्य कार्की
मलाई अग्ला घरमा चढ्न डर लाग्छ । जव धेरै तले घरका सिँढी उक्लिन्छु तव मेरो स्नायुप्रणाली कम्पित हुनथाल्छ । निकै तलामाथि पुगेर जमिनतिर आँखा लाउँछु, खुट्टा ढलपल ढलपल हुन खोज्छन् । जमिनले आफूतिर खिच्न लागेको बोध हुन्छ । सवै चिजको उभिने आधार त आखिर जमिनै हो । भुँइ नै हो । सयौँ तले घरपनि जमिनकै जगबाट माथि उठेका हुन्छन् । माटोकै जगमा उभिएका हुन्छन् । माटोले बनेको शरीर माटोबाट धेरै पृथक दूरीमा गयो भने माटोले आफूतिर खिच्छ कि क्या हो ? तले घरमा चढेपछि त्यस्तो अनुभूति हुन्छ ।
जमिन छोडेर, जमिन भुलेर धेरै माथि जाने वित्तिकै पृथ्वीको गुरुत्व वलले मान्छेलाई आफूतिरै तान्दछ । आखिर मान्छे जमिन छोडेर जति माथि उचालिए पनि एकदिन तलकै सतहमा पछारिन्छ । ‘एकदिन त मान्छे भूँइमै थेचारिन्छ । यस कटुसत्यलाई भुलेर मानिस जमिनबाट धेरै दूर जान खोजिरहेछ । आवश्यकताले भन्दा पनि विलासी हुन तला थपिरहेछ । जीवनको जरुरतले कम, मनको अहङ्कार परितोषणको उद्देश्यले घरको टुप्पो बढाइरहेछ ।’
टेक्ने जमिन भुलेर माथि उठेका सभ्यताका चुलीहरु इतिहासको गर्तमा गल्र्याम्गुर्लुम ढलेका छन् । जमिन र पर्यावरणको वेहितमा खडा गरिएका त्यस्ता सभ्यताहरु अवका दिनमा पनि उसैगरी ढल्नेछन्, जो पहिला ढलेका थिए । त्यसैले कसैले पनि आफूले टेकेको माटो भुल्नु हुँदैन । आफूले हिँडेको बाटो भुल्नु हुँदैन । जसले आफू उभिएको माटो भुल्योे; ढिलोचाँडो सुगति होइन दुर्गतिको शिकार बन्यो । यो कुरा बूढापाकाहरुको आहान हो । यस आहानमा एक सत्यताको छाप ठप्पा लागेको पाउँछु ।
फूलको वीज हेर्छु, यो जमिनमै उम्रिन्छ, टुसाउँछ । विरुवा विस्तारै आकाश ताकेर मास्तिरै फैलिन्छ । रुखको टुप्पो मास्तिर फैलिरहेको वेलामा उसका जरा जमिन मुनि त्यत्तिकै मजबुतसित फैलिएका हुन्छन् । जराको वलमा फूलले आकाश ताक्छ । जरालाई त्यही माटोले पोषण दिइरहेको हुन्छ । आकाशतिर उठेर फूलेको फुलको पनि एकदिन जमिनमा ओइलिई झर्नुपर्छ । यो प्रकृतिको शाश्वत नियम हो ।
जीवित मान्छेपनि आकाश ताकेरै बाँच्न खोज्छ । प्रकृतिले नै टाउकोलाई आकाशतिरै ठड्याइ दिएको छ । अरु जीवजन्तुका प्रायः टाउका क्षितिजीय रेखामा तेर्सिएका हुन्छन् । मान्छेको टाउको चाहिँ लम्वीय पथमा उभिएको हुन्छ । निचा विन्दुबाट उपर उठ्ने आकर्षण मान्छेको अत्यन्त स्वभाविक इच्छा हो । मान्छे मात्र किन बोटवृक्ष पनि आकाश ताकेरै बढिरहेका हुन्छन् । तर एकदिन मान्छेपनि ढल्नुपर्छ, गल्नुपर्छ । रुखपनि ढल्नुपर्छ, गल्नुपर्छ । शक्ति, सामथ्र्य, ओज र आयू सकिएपछि सबैले माटोमै तेर्सिनुपर्छ ।
शक्ति छउन्जेल सजीव जगत्लाई आकाशले आकर्षित गर्छ क्यार ! अनि शक्ति निख्रेपछि जमिनले आकर्षण गर्छ क्यारे ! प्राचीन ग्रीस मिथकको एक पात्र वीर आन्टियसको वारेमा कतै पढ्न पाएको छु । ऊ एक लडाकु योद्धा हो । देवताबाट उसले यस्तो वरदान पाएको छ, जमिनमा दर्विलोसित पाइला टेकेर लडुन्जेल उसलाई कसैले हराउन सक्तैन ।
जव लड्दालड्दै उसको सामथ्र्य निख्रिन्छ, उसको वल कम हुन्छ । त्यतिखेर झुकेर जमिनमा शीर राख्ने वित्तिकै उसलाई अजस्र शक्तिपात हुन्छ । अर्थात् पुनः ऊ ऊर्जाशील बन्छ र लड्न निस्किन्छ । लड्दै जान्छ । उसमा जित्नुको अहम्ताले गाँज्दै जान्छ । ऊ अव फुर्केर जमिन भुलेर आकाशतिर उडान लाउँछ । त्यही मौकामा शत्रुले चौका हान्छन् र उसको वध गरिदिन्छन् । जमिन नभुलुन्जेल ऊ अपराजित योद्धा थियो तर जव जमिन विर्सिदै गएपछि ऊ शक्तिहीन भयो र शत्रुले सजिलै समाप्त गरिदिए ।
आन्टियसको मीथकले आजपनि जमिन भुल्नेहरुलाई चेतावनी दिइरहेको छ । सावधान गराइराखेको छ । तर मान्छे अवुझ छ । टेक्ने जमिनसितको सम्वन्ध चुँडाउँदै चुडाँउदै लगेको छ ।
एकचोटि आकाशमा उडिरहेको चंगालाई अहङ्कार जाग्यो अरे । आकाशको निकै माथि पुगेपछि चंगाले सोच्यो– मलाई त नाथू ! यो धागोले पो अल्झाइरहेछ ।
तल लटाइले पो आफूतिर खिचिरहेछ । यो धागोले मलाई नखिच्ने हो भने त म कति माथि उडिसक्थेँ, उडिसक्थँे । मेरो स्वतन्त्र उडानमा बाधा दिने यो धागोसित मैले सम्बन्ध टुटाउनै पर्छ । यति सोचेर धागो छिनायो । धागो छिनेपछि चंगा मास्तिर उड्नुको साटो तलतिर ओरालो लाग्यो । र एउटा रुखको हाँगामा नराम्रोसित अड्क्यो ।
अव उसलाई त्यतिखेर याद भयो, धागो र लटाइ सितको आफ्नो सम्बन्ध । धागो र लटाइसित जोडिएकै कारणले आफू आकाशको दूर उचाइमा उडेको रहेछ । आफूले जमिनसित सम्बन्ध टुटाउने मान्छेको नियति चुँडिएको चंगासित हुवहु मिल्न जान्छ कि भन्ने मेरो ठहर हो ।
तले घर विरोधी व्यक्तिको रुपमा मुअम्मर गद्दाफीको नाम आउँछ । उनी लिवियाका खुंखार तानाशाह थिए । सत्ताइसै वर्षको उमेरमा विद्रोह मार्फत् सत्ता पल्टाएका र आजीवन शासक बनेका गद्दाफी वयालीस वर्षसम्म लिवियाको सर्वाेच्च शासक बने । उनका थरिथरिका शोख थिए । थरिथरिका विलासी आदतका शिकार थिए । आखिर शक्तिको जति अग्लो टाकुरीमा रजगज गरेपनि एकदिन नियतिले त्यसलाई क्रूरतापूर्वक पतनको अतल खाडीमा खँदारिदिन्छ । उनको जीवनलाई पनि हेर्दाहेर्दै त्यसै नियतिले निल्यो ।
आजन्म सत्ता सुखमा रहिरहन दिएन समयले । त्यहाँपनि उनको अत्याचारको सीमा नाघ्यो । नागरिक जनमा भयानक विष्फोटनको आगो उम्लियो । फलस्वरुप उनी सत्ताबाट गलहत्याइए । भाग्दाभाग्दै आफ्नै गाउँको ढलको पाइपमा लुक्न पुगे । विरोधीहरु त्यहीँ पुगेर कुटीकुटी मारे ।
उसको शक्ति, शान र रजगजको वेलामा कसले कल्पना गरेको थियो र ? यो मानिस एकदिन गुहे ह्यूम पाइप भित्र लुक्नुपर्छ भन्ने कुरा ? तर समय सवभन्दा शक्तिशाली हुन्छ । जसरी उसले अरुको निर्ममतापूर्वक ज्यान लियो त्यसैगरि उसको पनि ज्यान लिए ।
गद्दाफी खुंखार तानाशाह त हुँदै हो, ऊ एक्काइसौ शताब्दीको एक अत्याचारी शासक हो भन्ने कुरामा कसैको दुईमत छैन । र उसको तानाशाहीत्वलाई कदापि स्वीकार गरिन्न । तरपनि उसको एउटा वानी मलाई असाध्यै मन पर्छ; उसले एउटा संकल्प गरेको थियो अरे, जवसम्म लिवियाका प्रत्येक नागरिकलाई घर हुँदैन तवसम्म म आफ्नो निजी घर बनाउने छैन ।
जबसम्म देशवासीको निजी आवास बन्दैन तवसम्म आफ्ना बाबुआमालाई पनि घर बनाउँदिन । यो संकल्पमात्र गरेन गद्दाफीले, सोही खालको जीवन बाँचेको थियो । तले घरमा बस्ने सोख कहिल्यै भएन उसलाई । ऊ टेन्टमा रहन्थ्यो अधिकाँश समय । विदेश यात्रामा पनि आलिशान होटलमा होइन, आलिशान टेन्ट गाडेरै सुत्यो । खुंखार तानाशाह त हो तर तले घरलाई घुणा गरेर टेन्टमा सुत्ने उसको बानी अनुकरणीय छ । उसले चाहेको भए पचासौँ तले महल उभ्याउन सक्थ्यो र सवभन्दा माथिल्लो तल्लामा सुकला गर्न सक्थ्यो । तर उसले भुँइको टेन्ट कहिल्यै छोडेन ।
जतिसुकै वैगुनी मान्छेका पनि केही न केही सद्गुणहरु हुन्छन् । त्यही सद्गुणको साहाराले ऊ टिकेको हुन्छ। उसले विना व्याजमा सर्वसाधारण नागरिकलाई पैसा ऋण दिने व्यवस्था मिलाएको थियो अरे । यतिमात्र होइन देशले तेल बेचेको पैसाको एक हिस्सा प्रत्येक नागरिकको वैंक खातामा हालिदिने व्यवस्था, निःशुल्क शिक्षा, निःशुल्क विजुली नागरिकलाई उपलब्ध गराएको थियो अरे ।
गद्दाफी एक निरकुंश सैन्य शासनमा विश्वास गर्ने नेता थियो । परन्तु ऊ टेन्टमा सुत्थ्यो, बस्थ्यो । हाम्रो देशका लोकतान्त्रिक र जनवादी नेताहरु कति जना टेन्टमा सुत्छन् होलान्, कतिजना झुपडी र फुसको छानो मुनि होलान् ? खोजविन गर्न मन लागेको छ ।
उहिल्यै नेपालमा महिन्द्री मल्ल नाम गरेका राजा थिए । उनी आफ्ना प्रजाले नखाई आफू खाँदैनथे । विहानको खाना खाने बेलामा दरवारको वार्दलीबाट सवै जनताको घर झोपडीतिर नजर डुलाउँथे । सवैको घरमा चुलो धँुवाएपछि मात्र उनी खान वस्थे अरे । जसको घरमा चुलो धुँवाएको छैन । त्यस घरमा किन आगो बलेन सोधपुछ गर्न सिपाही पठाउँथे र त्यहाँ खानाको व्यवस्था गरेपछि मात्र भाग बस्थे भन्ने कुरा पढिएको हो । महिन्द्री मल्लको कुरा त एकादेशको कथा भैसक्यो ।
सत्ता र पदमा जाने अहिलेका नेता र शासकले न त महिन्द्री मल्लको सिको गरेका छन्; न त गद्दाफीको राम्रो कुराबाट केही सिक्ने चेष्टा गरेका छन् । उनीहरुको चेष्टा त उल्टो दिशातर्फ अभिमुख छ । धेरै तले गगनचुम्वी महल खडा गरेर त्यसमा मोजमस्ती गर्नु उनीहरुको मूल अभिष्ट देखिन्छ । सर्वसाधारण जनताको सुखसुविधा भन्दा आफ्नै निजी सुखसुविधा बढाउने कुरामा ख्याल राखिँदै आएको छ । देश र जनताको आन्द्रा काटेर होस् या गला निचोरेर होस् आफ्नै घरका तला बढाउने धन्दामा निकृष्ट नेतृत्व व्यस्त रहेपछि कसरी उँभो लाग्छ मुलुक ? कसरी सुख पाउँछन् मुलुकवासीले ? सोचनीय प्रश्नहरु हुन् ।
आफ्नो सुपथ कमाइले एकैतले घर बनाउन पुग्छ भने अर्काको गला रेटी रेटी किन अनेकौँ तला थपिराख्नु ? गाँस बास कपास आधारभूत आवश्यकता हुन् । घामपानी, हिउँद, वर्षाबाट जोगिन एउटा आवास याक्सो त चाहिन्छ नै । घरको निरपेक्ष विरोध गरिएको पनि होइन । तर अनैतिक तवरबाट धन आर्जन गरी तला उपर तला थप्ने कार्यले चाहिँ घृणा उम्लेर आउँछ । तर आफ्नै पौरख र पसिनाको वलमा पचासौँ मञ्जिलको मिनार उभ्याएपनि त्यसलाई साधुवाद छ ।
संसारमा सर्वाधिक वढी सेना र आणविक हतियार थुपार्ने राष्ट्र अमेरिका पनि आज सुरक्षित छैन । संसारकै अग्ला महल ट्वीन टावरलाई कुनै आतङ्कीले प्लेन ठोक्याएर धुलिसात बनाइदिएको छ । विश्वमा हैकम जमाउने अमेरिकाका यी सयौँ तले महल, उसको शान, मान र अभिमानका विरासत थिए ।
पृथ्वीको कुनैपनि कुनामा छिनभरिमा मार हान्न सक्ने क्षेप्याश्त्र र युद्धपोतहरु छन् ऊसित । तर आज आफ्नै आँगनमा आएर कसैले त्यो गगनचुम्वी महल भत्काइ दिदाँ र हजारौँ मान्छे मारिदिँदा ऊ अक्क न वक्क परेको छ । अमेरिकी नागरिक आफ्नै आँगनमा सुरक्षित छैनन् । यहाँ भन्दा ठूलो विडम्वना के होला ?
अरुका गला निमोठेर आफ्नै मात्र तला चुल्याउनेहरुले सोच्ने घडी आएको छ । अरुलाई पताल भसाएर आफूमात्र चुलिने प्रवृत्ति सर्वथा घातक छ । उनीहरु सर्वथा असुरक्षित छन् । एउटा विनाशकारी भूकम्पको हमेशा आमन्त्रण गरिरहेछन् संसारका हर गगनचुम्वी महलहरुले; प्रकृतिमा भूकम्प आवश्यम्भावी पनि छ । कहिल्यै जमिन हाल्लिएर आउँछ यो भुकम्प । कहिल्यै मान्छेका मगजलाई कम्पायमान पार्दै आउँछ यो भूकम्प । यी दुवै भूकम्प अनीतिका बलमा उभिएका तले घरहरुको निम्ति घातक छन्, प्रत्युत्पादक छन् ।
शोषण, अन्याय, अत्याचार र विभेदको जगमा उभिएका महलतिर आँखा पर्ने वित्तिकै मनमा सन्देशहरु उठ्छन् । कठै ! कति कति अदना नरनारीहरुका गाँसवाँस लुटिएका होलान् । कति श्रमिक जनगणका आँशु, रगत र पसिना पोखिएका होलान् । कतिका टेक्ने जमिन समाप्त भए होलान् । कतिको थातवास उठ्यो होला । कति सुकुम्वासी बनेर खुला आकाशमुनि सुत्नु पर्ने अवस्थामा पुगे होलान् । हरेक अग्ला घरका जगमा हजाराँै गरिव सुकुम्वासीका विल्लीवाठका कथाहरु पुरिएका हुन्छन् । हरेक अग्ला घरका छत र छानामा आदना वितराजनको आँशु र पसिना टल्किएको हुन्छ । ती घरका हरेक भित्ता भित्तामा मिहेनतकश जनताको स्वेदविम्ब प्लाष्टर भएको हुन्छ ।
प्रायः मेरा सवै मित्रहरुका पक्का घर भैसके । म भने बाँस र टीनको छाप्रे घरमा छु । ऋणपान गरेर भएपनि एउटा तले घर बनाउन सुझाव गर्छन् । म भने तले घर भनेपछि डराउँछु । मास्टर जागिरको आनासुकी कमाइले कहिले पो तले घर ठडिँदो होला र ? अहिलेसम्म वालबच्चा पढाउन, ओखतीमूलो गर्न र विहान बेलुकाको गाँस जुटाउनै धौ धौ परिराखेको अवस्था छ ।
आफ्नो यो हविगत चलिराखेको वेलमा हिजो पराले झुपडीमा बस्नेहरु, हात्तीछाप चट्टी पड्काएर हिँड्नेहरु, काठमा रण्डा दलेर खोले जुटाउनेहरु आज चारतले, पाँच तले, छतले, साततले भैसकेका छन् । होइन कहाँबाट आउँछ हँ ! यो पैसा भन्ने जिनिस ? तला थप्न त मान्छेलाई कुनै अप्ठ्यारो नै छैन । कमाइको वैधानिक श्रोत हुनेलाई त यो स्वभाविक कुरा होला । कुनै श्रोत नभएका मानिसले राजनीतिमा एउटा पहँुच बनाउने वित्तिकै भटाभट तला थपिरहेको देख्छु । तर यिनले थपेका तलामा खोट र खतरा छ । किनभने अपारदर्शी विधि र बाटोबाट थपिएका तलाहरु निश्चय नै टिकाउपूर्ण हुन्नन् ।
फेरि धेरै तलाको दरवार मैले किन उभ्याउनु परेको छ र ? राजाले त भर्खरै दरवार छोडेर हिँड्नु प¥यो । त्यत्रो आलिशान दरवार त राजाको आफ्नो भएन । राजाको लागि काम लाग्ने भएन भने हामी जस्ताले किन आलिशान महलको आकाँक्षी बन्ने ? घामपानी ओत्ने, जाडोगर्मीबाट बचाउँने, हावाहुरीबाट सुरक्षित राख्ने, सामान्य एक शान्तिको निकेतन होस् अरुका आँखा तिरिमिरी पार्ने धेरै तलाको महल नहोस् यही कामना छ ।
फेरि यही सानो झुपडी मेरो पौरखको दरवार ठानेको छु । मलाई चाहिने दरवारी सुख यही झुपडीमा मिलिराखेको छ भने म किन अर्काे भव्य दरवारको लालसाले ग्रसित बनूँ ? खसोखास भन्दा मलाई तले घर चढ्नमा डर लाग्छ । त्यसैले धेरै तले घरको विरोधी हुँ म ।
समाप्त