उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उदयपुरको नेतृत्व पुराना वामपन्थी नेता राममणी पोखरेलले सम्हाल्नु भएको छ । उदयपुरको कम्युनिस्ट आन्दोलनका एक संस्थापक नेताको रुपमा चित/परिचीत पोखरेलले एकीकृत समाजवादी (एस) पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।
बुधबार सदरमुकाम गाईघाटमा एस पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलको अध्यक्षतामा जिल्ला संगठन कमिटीको घोषणा गरिएको छ । नेकपा एस उदयपुरकाे सचिवमा जयराम पञ्जियार थारु चयन हुनुभएकाे छ । नेकपा एसका केन्द्रीय पार्टी प्रवक्ता जगनाथ खतिवडाले जिल्लाकै पुराना नेता पोखरेलको नेतृत्वमा जिल्ला संगठन कमिटी गठन गरेको घोषणा गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘जिल्ला पार्टीको पुरै संरचना आगामी असोज ३ गते सार्वजनिक गर्ने तयारी छ ।’
खतिवडाका अनुसार यसअघिकाे नेकपा एमालेको समानान्तर कमिटीको नै अहिले नेकपा एसको जिल्ला संगठन कमिटीमा परिणत भएको छ । पार्टी अन्तरसंघर्षको क्रममा तत्कालिन अध्यक्ष इश्वरमणी राउतकाे अध्यक्षतामा उदयपुरमा २०७७ साल चैत २२ गते समानान्तर कमिटी गठन भएको थियो ।
आज बसेको नेकपा एस उदयपुरको पहिलो जिल्ला कमिटीको बैठकले अध्यक्ष राउतलाई अध्यक्षको जिम्मेवारीबाट हटाउँदै पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेकाे पनि खतिवडाले बताउनु भएको छ । अध्यक्ष पोखरेले नेकपा एमालेमा २६ वर्षअघि जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहनु भएका पोखरेल साहित्यकार तथा लेखकको रूपमासमेत परिचित हुनुहुन्छ । नेकपा एमाले कानूनी रूपमा विभाजित भएको राजनीतिक दल भएको जानकारी गराउँदै खतिवडाले नेकपा एमालेका सबै असल, ईमान्दार, क्रान्तिकारी तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रवृतीकाविरूद्धमा उभिएका नेता, कार्यकर्ताहरूलाई नेकपा एकिकृत समाजवादीमा समाहित भई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न आव्हानसमेत गर्नु भएको थियो ।
खतिवडाले जनताको बहुदलिय जनवादका आधारभुत विचारहरूको नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गर्ने तथा मुलुकलाई समृद्धको दिशामा डोहोर्याउने सच्चा कान्तिकारी विचारको प्रतिनीधित्व नेकपा एकिकृत समाजवादी रहेको दाबीसमेत गर्नु भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष पोखरेलले तीन महिनाभित्र जिल्लाभर पार्टीका विभिन्न संगठनका कमिटीहरु निर्माण गरिसक्ने बताउनु भएको छ । ‘पार्टी टुटफुट हुनु स्वभाविक हो,’ उहाँले भन्नुभयो, ‘क्रान्तिकारी धार नै एस पार्टी भएकाले पार्टी मजबुद हुने छ ।’
नेकपा एस उदयपुरले त्रियुगा नगरपालिका ११ गाईघाट बजारको मेनचोकमा सम्पर्क कार्यलय समेत उद्घाटन गरेको छ । पत्रकार सम्मेलन र कार्यलय उद्घाटन कार्यक्रममा नेकपा एसका केन्द्रीय सदसय बलदेव चाैधरी लगायतका उदयपुरका नेता कार्यकर्ताको बाक्लाे उपस्थित रहेकाे थियाे ।