उदयपुर । वन क्षेत्रमा रहेको खुल्ला जग्गामा विरुवा रोप्दै ‘राष्ट्रिय वृक्षारोपण दिवश २०७८’ मनाइएको छ । सोमबार डिभिजन वन कार्यालय गाईघाट उदयपुरको आयोजना र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ४ को समन्वयमा खुल्ला जग्गामा विरुवा रोप्दै मनाइएको हो ।
शिवक्त वन समुदायिक वन क्षेत्रको खुल्ला जग्गामा विभिन्न प्रजातिका विरुवा रोप्दै मनाइएको बताइएको छ । वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार हर्रो, बर्रो अमला, सतिसाल लगायतका एकसयवटा भन्दाबढी विरुवा शिवशक्ति सामुदायिक वन क्षेत्रमा रहेको खुल्ला चौर (जग्गा)मा रोपिएको छ । ‘त्यस सामुदायिक वन क्षेत्रमा खुल्ला जग्गा थियो,’ सूचना अधिकारी साहले भने, ‘त्यही खुल्ला जग्गामा झण्डै एकसयभन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।’
‘‘वृक्षारोपण गरौं, पर्यावरण जोगाउँ’’ भन्ने नाराका साथ आयोजना गरिएको ‘राष्ट्रिय वृक्षारोपण दिवश २०७८’ उदयपुरका प्रमुख अतिथित उदयपुर जिल्ला अदालतका प्रमुख न्यायधीस दीपक खनालले विरुवा रोप्न खनिएको खाल्डोमा विरुवा रोप्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा विशेष अतिथिका रुवमा प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाई, डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी साह, लगायत, शिवशक्ति सावउसका पदाधिकारीको उपस्थिति थियो । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार देशभर एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् ।
वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकाको रुद्रमती/धोबीखोला करिडोरमा सोमबार असारे बिरुवा रोपेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गरेका थिए । सरकारले विसं २०७६ लाई वृक्षरोपण वर्षको रुपमा मनाउने घोषणा गरी आर्थिक वर्ष २०७५/७६ मा पाँच करोड विरुवा रोपण गर्न बजेट विनियोजन गरी वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ ।
३० हजार विरुवा रोपिँदै, फलफूलका मात्र १० हजार
डिभिजन वन कार्यालय उदयपुरले फलफुल तथा अन्य प्रजातिका झण्डै तीस हजार विरुवा रोप्ने अभियान चलाएको छ । सरकारी तथा गैरसरकारी कार्यालय परिसर लागायत त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलाका नगरपालिकाको वन क्षेत्र तथा किसानले खेती गर्दै आएका जग्गामा विरुवा रोप्ने अभियान चालएको हो ।
तीन नगरपालिकामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा परिसरमा फलफूल तथा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् । कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार आँप ८ सय, लिची, एकहजार पाँचसय, कटहर पाँसय गरी १० हजार फलफुलका विरुवा रोप्नेलाई नगरपालिकाहरु मार्फत अभियान चलाएको छ । ‘हामीले नगरपालिकाहरुलाई दिन्छौँ,’ उनले भने, ‘नगरपालिकाले पनि त्यहाँबाट किसानलाई वितरण गर्दछ ।’
उनका अनुसार तीनै नगरपालिकलाई आँप, लिची र कटहरका विरुवामा मात्र झण्डै ५ हजार ७ सय उपलब्ध गराइएको छ । ‘कति समूह, किसान, विभिन्न संघसंस्थाले वन कार्यलयमार्फत लिएर गएका छन्,’ उनले भने, ‘आँप, लिची र कटहरका विरुवा १० हजार छ, भने तेजपत्ताको मात्र १० हजार विरुवा वितरण गरेका छौँ ।’
यता फलफुल र तेजपत्ता बाहेका अन्य प्रजातिमा हर्रो, बर्रो, सतिसाल, अमला लगायतका १० हजार विरुवा उजाड भएको वन क्षेत्रमा रोप्नको लागि समुदायिक वन उपभोक्ता समूहलाई वितरण गरिएको छ । ‘चौदण्डीगढी नगरपालिकाको ९ खैरा झोराको त्रियुगा नदीले बगर बनाएको २० हेक्टर जग्गामा समेत वृक्षारोपण गरिएको छ,’ उनले भने, ‘त्यस क्षेत्रमा ५ सयभन्दा बढी बिरुवा रोपिएको छ ।’