उदयपुर । कोरोना महामारीको सयममा उदयपुरको कटारी नगरपालिकाका सुकुम्बासी बस्तीमा डोजर लगाएर घर भत्काएपछि आन्दोलित बनेका छन् । कटारी नगरपालिकाका वडा नम्वर ४ मा रहेको सुकुम्बासी टोलमा डोजर चलाएर घर भत्काएपछि सुकुम्बासीहरु आन्दोलित बनेका हुन् ।
बुधबार विहान नगरपालिकाले डोजर चलाएर सुकुम्बासी बस्तिका २ घर भत्काएपछि सुकुम्बासीहरु आन्दोलित बनेको स्थानीय मिलन दनुवारले जानकारी दिए । उनले भने, ‘सुकुम्बासीका घरहरु भत्केपछि सुकुम्बासी टोलका स्थानीयले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिमकुमारी राउतल, सव इन्जिनियर ओम मिश्रको घरमासमेत ढुंगामुढा गरी क्षति पुर्याएको छ ।
ढुङ्गाले लागेर उप प्रमुख सामान्य घाइते समेत भएकी छिन् । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको ईलाका प्रहरी कार्यलय कटारीका डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । आन्दोलनकारी र प्रहरीको झड़पमा आन्दोलनकारी ५ जना नेपाली प्रहरी ३ जना सशत्र प्रहरीको इंस्पेक्टरसहित ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । आन्दोलनकारीहरुले घरको झ्यालका सिसा, ढोका, लगायतमा क्षति हुन गएको प्रहरीले जानकारी दिए । तोडफोडमा संलग्न भएको आरोपमा कटारी –३ शान्तिचौकका २६ वर्षीय शरद सुनुवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको सुरक्षास्रोतले जनाएको छ । घटनामा मानवीय क्षति भएको छैन । सुरक्षास्रोतका अनुसार अहिले कटारी बजारको अवस्था पूर्ण नियन्त्रणमा रहेको छ ।
विवादको चुरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) बर्दिबासले सो जग्गा भूमाफियासँग मिलोमतो गरी बेचेको आरोपमा नगरपालिकाविरुद्ध छानविन गर्दैछ । नगरपालिकाले भने सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति अघि सार्दै भूमाफियालाई जग्गा अतिक्रमण गर्न र हडप्नबाट रोक लगाउने नीति बनाएको प्रतिउत्तर फर्काएको छ । यस्तो बेला विवादित र नगरपालिकाको स्वामित्व स्थापित हुने कि. नं.७८ र १०८ को करिब २ विगाहा ७ कठ्ठा जमिनमा कुनै पनि आवास गृह बनाउन नदिने नीति लिएकोले भूमाफियाहरु एकजुट भई विरोधमा उत्रिएको आरोप लगाएको छ । तर भूमि अधिकार मञ्च उदयपुरका सदस्य केदार राना मगरले भने कोभिड १९ को बेला जनताको घर जवर्जस्ती भत्काएर अन्याय गरेको आरोप लगाउनु भएको छ ।
रानाका अनुसार १० वर्षअघिदेखि सो जग्गामा सुनुवार बस्दै आउनु भएको हो । र, सो जग्गा सार्वजनिक नभएर पहले राई दनुवारको नाममा ७ नम्बरको फाँटबारी अनुरुप दर्ता भएको छ । आन्दोलनकारीका अगुवा राना मगरले भूमि ऐन आठौं संशोधनमा भएको प्रावधानअनुसार सरकारी, राष्ट्रिय र सामुदायिक बन वा नदी उकास भए पनि १० वर्ष भन्दा बढी बसोबास भएको जग्गा नापी गर्ने व्यवस्था भएअनुसार घर बनाएको दावी गरेका छन् ।
विवादित जग्गामा करिब ५ घर पक्की र अन्य १५० जति घरटहरा देखिन्छ । उनले भने,‘जवर्जस्ती गरेर बनाए भने किन बनाए भनेर नगरपालिकाले सोधपुछ गर्न सक्थ्यो । तर कुनै सोधपुछ नै नगरी घर भत्काइदिएको छ ।’
मेयर श्रेष्ठ भन्छन, ‘सुकुम्बासीको नाममा भूमाफियाले आन्दोलन गरे’
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले सुकुम्बासीको नाममा भूमाफियाले आन्दोलन गरेको बताएका छन् । ‘हामी सरकारी जग्गा संरक्षण गर्न निरन्तर रुपमा लागि रहने छौँ, यहाँ सुकुम्बासीको नाममा भूमाफियाको आन्दोलन हो, हामी डराउने छैनौँ ।’
उनले कोरोना महामारीको वेला पनि सरकारी जग्गा कब्जा गर्न खोजेपछि भत्काउन बाध्य भएको बताएका छन् । ‘कोरोना महामारीले देश नै ठप्प छ,’ उनले भने, ‘यही मौकामा भूमाफियाहरु सलबलाउन थालेका छन्, आज भत्काइएको घर, सुकुम्बासीले बनाएका होइनन्, भूमाफियाले बनाएका हुन्, त्यही भएर भत्काएका हौँ ।’
उनले नगरपालिकाले वास्ताविक सुकुम्बासीको पहिचान गरी लाजपुर्जा दिने तयारी समेत गरेको बताएका छन् । ‘कटारी नगरपालिका सुकुम्बासीको लागत संकलनमा जुटेको छ,’ उनले भने, ‘यहाँ सुकसम्बासीको नाममा आन्दोलन हुन्छ, त्यो पनि कोरोना महामारीमा हामीले के भन्ने ? सरकारी जग्गा संरक्षणमा कटारी नगरपालिकाले सुरु गरेको अभियान जारी रहन्छ ।’ यता कटारी नगरपालिका ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णराज दनुवारले नगरपालिका भित्रका जग्गा संरक्षणको लागि अख्तियारले पत्र नै काटेर संरक्षण गर्न अनुरोध गरेपछिसो ठाउँको जग्गा संरक्षणका लागि पटक पटक सूचना जारी गर्दा अटेर गरेपछि भत्काइदिएको बताए ।
उनका अनुसार पटक पटक सूचना जारी गर्दै सार्वजनिक जग्गा खाली गर्न अनुरोध गर्दा पनि भूमाफियाहरुले जग्गा खरिद विक्री गर्ने गरेकोले भूमाफियाले बेचेको सार्वजनिक जग्गामा घर बनाईरहेको पाएपछि भत्काएको दाबी गरेका छन् ।
के भन्छन, आन्दोलनकारी ?
स्थानीय मान बाहादुर दनुवार र सन्त बहादुर सुनुवारको घर सार्वजानिक जग्गामा बनेको भन्दै नगरपालिकाले बुधबार विहान डोजर लगाएर भत्काइदिएको थियो । मान बहादुर दनुवारको मृत्यु भएको तीन दिन भएको र आफन्तहरु शोकमा भएको बेला नगरपालिकाले डोजर चलाएपछि विरोध गर्न आन्दोलन गर्नु परेको स्थानीयको भनाइ छ ।
भूमि अधिकार मञ्च उदयपुरका अध्यक्षसमेत रहेका सन्त बहादुर सुनुवारले दुबै जनाको घर नगरपालिकाका (नगर प्रमुख) मेयर ज्ञनेन्द्र श्रेष्ठ, उपप्रमुख) उपमेयर भीमकुमारी राउत र वडा ४ का वडा अध्यक्ष कृष्णबहादुर दनुवार र इञ्जिनियर ओम मिश्रको उस्थितमा डोजर लगाई भत्काइएपछि आन्दोलन गर्नु परेको बताए । उनले भने, ‘नगरपालिकाले जानकारी नै नदिई यस्तो माहामारीको समयमा लाखौँ खर्च गरेर बताएको घर भत्काइदिइएको छ ।’ अनि आन्दोलन गर्नु परेको हो ।’
वर्षौदेखि उपभोग गर्दै आएको जग्गामा घर निर्माण गर्दा स्थानीय सरकारले अन्याय गरेपछि कोरोना महामारीको समयमा पनि आन्दोलन गर्नु परेको आन्दोलनकारीको भनाइ छ । आन्दोलनका अगुवा तथा भूमि अधिकार मञ्च कटारी नगरपालिकाका सचिव गणेश थापा भन्छन, ‘कोरोना महामारीको समयमा पनि स्थानीय सरकारले आन्दोलन गर्न बाध्य बनायो ।’ आन्दोलनकारीका गुनासोहरु बाँकी भिडियोमा हेर्न सकिन्छ । सम्पादक