कैलाली । सुदूरपश्चिमस्थित सीमा नाकाहरूमा भारतबाट फर्किने नेपालीको भीड घटेको छैन । रोजगारीका लागि भारत पसेका नेपाली चैत मध्यदेखि घर फर्किने क्रम बढेको हो । पछिल्लो १५ दिनको तथ्यांकले गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सरदर १३ सय नेपाली स्वदेश फर्किरहेको देखाउँछ ।
प्रहरी तथ्यांकअनुसार समीक्षा अवधिमा १८ हजार ९ सय ३१ जना यी दुई नाका भएर घर फर्किएका छन् । यो संख्या दिनको १२ सय ६२ हुन आउँछ । वैशाख १७ देखि ३१ गतेसम्म गौरीफन्टा नाकाबाट मात्रै १४ हजार ८६ नेपाली भारतबाट फर्किएका छन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर ४ हजार ८ सय ४५ नेपाली स्वदेश फर्किएका छन् । ‘भारतमा चैत मध्यतिर कोरोनाको दोस्रो भेरियन्ट फैलिएपछि नेपालीहरू स्वदेश फर्किने क्रम सुरु भएको हो’, कञ्चनपुर र कैलालीको सिमानासँग जोडिएको गौरीफन्टा नाकाका हेल्थ डेस्क प्रमुख गणेशबहादुर साउदले भने, ‘चैते दसैं र नयाँ वर्ष सुरु हुनुभन्दा केही दिनअघि त दैनिक ६–७ हजार मानिस पनि आए । तर, त्यो क्रम अहिले पनि रोकिएको छैन ।’
भारतमा दैनिक साढे ३ लाखदेखि ४ लाख व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । धेरैजसो राज्यमा लकडाउन गरिएको छ । भारतका महाराष्ट्र, राजधानी दिल्ली, बैंगलोर, उत्तर प्रदेशका ठूला सहरहरूमा लकडाउन छ । तर, नेपाल आउन चाहनेहरूका लागि भने भारत सरकारले पास दिएर गाडीहरू सीमा नाकासम्म चल्न दिएको छ ।
‘भारतका विभिन्न सहरहरूबाट दैनिक १५–२० वटा दुई तले निजी बसहरू (सुतेर आउन मिल्ने) आउँछन् । चर्को भाडामा पनि नेपालीहरू घर फर्किरहेका छन्’, हेल्थ डेस्कका इन्चार्ज साउदले भने । नेपालमा पनि कोरोना संक्रमणदर दैनिक साढे ८ हजारभन्दा माथि छ । तर, सीमा नाकाहरूको व्यवस्थापन हुन सकेको छैन । सरकारले चैतदेखि नै नाकाहरूमा हेल्थ डेस्क राखे पनि भारतबाट फर्किनेमध्ये १० प्रतिशतको पनि एन्टिजेन परीक्षण भएन ।
वैशाख दोस्रो सातासम्म पनि भारतबाट फर्केका नेपाली नजिकका बसपार्क हुँदै सोझै घर गए । जसकारण अहिले कोरोनाको संक्रमण बढेको स्वास्थ्य विज्ञ बताउँछन् । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी सीमा नाकाहरूको अझै व्यवस्थापन हुन नसकेको स्वीकार गर्छन्। ‘सीमा नाकाहरूमा अहिले पनि दैनिक सरदर डेढ हजार संख्यामा नेपालीहरू आइरहेका छन् ।
तर, त्यसको १० प्रतिशतको हाराहारीमा परीक्षण भइरहेको छ’, चौधरी भन्छन्, ‘अनि कसरी कोरोना नियन्त्रणमा आउँछ ? चौधरीका अनुसार सीमा नाका भएर फर्किने शतप्रतिशतको परीक्षण गरी पोजिटिभ भएकाहरूलाई आइसोलेसन गर्न सके मात्रै केही महिनामा महामारी नियन्त्रण गर्न सकिनेछ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।