कटारी । कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारीले आफुलाई सरकारी गाडी किन्ने पैसाले जनताको लागि एम्बुलेन्स खरिद गरेकी छिन् ।
जनप्रतिनिधिहरूमा गाडी मोह बढिरहेका बेला उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख राउतले सुविधाका लागि गाडी खरिद गर्न लागिएको पैसाले एम्बुलेन्स खरिद गरेकी हुन् ।
उनले बिरामी, महिला, बालबालिका तथा विपन्नलाई अस्पताल लैजाने सवारी नपाउँदा कतिपयले अकालमै ज्यान गुमाउनु परेकाले आफू विलासितामा रमाउन नसकेकाले एम्बुलेन्स खरिद गरेको बताइन् । ‘एम्बुलेन्स नगरपालिका आइपुगेको छ,’ उनले भनिन्, ‘हस्तान्तर गर्न बाँकी रहेको छ, मेरो लागि गाडी किन्ने पैसाले यो एम्बुलेन्स किनिएको हो ।’
उनका अनुसार कार्यपालिकाले नगरसभामार्फत् उपप्रमुखको सुविधाका लागि सवारी खरिद गर्ने निर्णय गरेको थियो। उनले भनिन्, ‘जनताको करबाट आफू विलासी सुविधा लिन्न भन्दै एम्बुलेन्स किन्ने घोषणासमेत गरेकी थिइँ, अहिले एम्बुलेन्स किने ।’
‘जनता गरिबीको रेखामुनि छन्, खान पुग्ने अवस्था छैन,’ उनले भनिन्, ‘गरिबीका कारण घरमै सुत्केरी हुने अवस्था छ, हामीले लाखौंको गाडी चढ्ने अवस्था छैन ।’ उनलाई नगरपालिकाले जनप्रतिनिधि आउनुअघि नै किनेको बोलेरो दिएको थियो । बोलेरो पुरानो भएको र बेलाबेला बिग्रने गरेकाले यस वर्ष नयाँ गाडी खरिद गर्ने निर्णय नगरपरिषद्ले गरेको थियो । अहिले मैले त्यही पैसाले एम्बुलेन्स किनेकी छिन् ।