काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष केशबकुमार बस्नेतले उद्योगमा अनावश्यक हस्तक्षेप र आर्थिक दुरुपयोग गरेको भन्दै कर्मचारीका संगठनहरुद्वारा विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योग सम्बद्ध सम्पूर्ण ट्रेड युनियन तथा मजदुर कर्मचारीहरुको तर्फबाट हस्ताक्षर गरेर बुझाएको पत्रमा बस्नेत अध्यक्ष भएदेखि उद्योग नियमित रुपमा सञ्चालन हुन नसकेको र उद्योगको महाप्रबन्धकलाई अनावश्यक हस्तक्षेप गरी उद्योग नियमित रुपमा सञ्चालनमा बाधा व्यवधान पुर्याएको पनि आरोप लगाएका छन् ।
उद्योगमा उनी २०७९ असोज महिनामा अध्यक्ष नियुक्त भएका थिए । केही महिना अघि मात्रै सुशासनसहित सुचारु रुपमा उद्योग सञ्चालन गरिरहेका उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई हटाउने खेलमा समेत अध्यक्ष बस्नेतकै मूख्य भूमिका रहेको वताइन्छ । ‘महाप्रबन्धक न्यौपानेको कार्यकालमा उद्योग सञ्चालनले राम्रो गति लिन थालिसकेको थियो ।’ उद्योगका कर्मचारीले भने– ‘उद्योगमा महाप्रबन्धक न्यौपानेले थुप्रै सुधारका काम सहित कम्पनी अधावधिक, कर्मचारीको उचित व्यवस्थापन, उत्पादन, उत्पादनको गुणस्तर, बजार व्यवस्थापन तथा विक्री वितरणमा समेत उल्लेख्य प्रगति भएकोमा फेरि उद्योग न्यौपानेले हेरेको व्यवस्थापन अघिकै अवस्थामा पुग्ने पक्का भयो ।’
महाप्रबन्धकको कार्यकारिणी अधिकारमा हस्तक्षेप गरी तोकिएको मापदण्ड तथा गुणस्तर भन्दा कमको कोइला मगाई जबर्जस्ति चलाउन लगाई अधिकारको दूरुपयोग गरेको कर्मचारीहरुले आरोप लगाउदै तत्काल अध्यक्ष पदबाट हटाउन उद्योगका युनियनहरुले बिज्ञप्ति जारी गर्दै संयुक्त रुपमा सरकार समक्ष अनुरोध गरेका छन् । कर्मचारी/मजदुरहरुका अनुसार अध्यक्ष बस्नेतलाई अर्का सञ्चालक लिलबहादुर बस्नेतले समेत साथ दिइरहेका छन् ।
‘अध्यक्ष नियुक्ति गर्दा अध्यक्षलाई के कसो सुबिधा दिने भन्ने निर्णय गरेर दिएको हुन्छ । तर केशबकुमार बस्नेत अध्यक्ष भएर जानसाथ पुरा समय गाडी सुबिधा, मोटरसाइकलमा तेल, काठमाडौ घर आउँदा जादा काजभत्ता, अनावश्यक खर्चका बिलहरु पेस गरी लिइएको छ ।’ उद्योगका एक कर्मचारीले भने– ‘अध्यक्ष बस्नेतले निबेदनमा तोक लगाएर आदेश दिने अबैध काम समेत गरेका छन् ।’ त्यसबाहेक उद्योगले तोकेको ५४७० सिभीको कोइला माग गरेकोमा ४५०० सिभीको कोइला आएकोले ल्याबबाट टेष्ट नै नगरी उद्योग चलाएको तर गुणस्तरीय कोइला नभएकोले उद्योगमा उत्पादन नभएकोले एक हप्तामै उद्योग बन्द गर्दा ठूलो घाटा लागेको कर्मचारीहरुको आरोप छ ।
कोइला सप्लाइ गर्ने कम्पनीसँग अध्यक्ष केशब बस्नेतको ‘कमिसन चलखेल’ हुनसक्ने आशंका समेत कर्मचारीहरुले व्यक्त गरेका छन् । कमसल कोइला चलाउन अहिले पनि दबाब दिइरहनुले पनि उक्त कुराको पुष्टि गर्ने ती कर्मचारीको दाबी छ । उक्त कोइला नचलाए गुणस्तर बिभाग प्रमुखलाई सरुवा गरिदिने र सो भन्दा अघि कारबाहीमा परेका कोबिदकुमार काफ्लेलाई गुण नियन्त्रण महाशाखा प्रमुख बनाई जाँच पास गराई छाड्ने अध्यक्ष बस्नेतले धम्की दिएको समेत ती कर्मचारीले संगिन आरोप लगाएका छन् ।
कर्मचारीहरुले लगाएको आरोप भने निराधार र कपोल्कपित भएको अध्यक्ष बस्नेतले दाबी गरेका छन् । उद्योगको बातावरण प्रति प्रश्न गर्दै अध्यक्ष बस्नेतले भने– ‘यो आरोप खाने ठाउँ रहेछ ।’ कच्चा पदार्थको जोहो नगरेर उद्योग नचलाउँदा पनि किन चलाइएन भनेर प्रश्न गर्ने र कच्चा पदार्थलगायतलाई व्यवस्थापन गरेर उद्योग चलाउन खोज्दा पनि किन ल्यायो, कसरी ल्यायो भनेर आरोप लाग्ने गरेको अध्यक्ष बस्नेतले बताए । उद्योगको सामान खरिद गर्न सार्वजानिक खरिद ऐन अनुसार टेण्डर गर्ने सिस्टम छ त्यही सिष्टम अनुसार नै सामान खरिद गरिएको अध्यक्ष बस्नेतले बताए । सवारी दुरुपयोग गरेकोलगायत कर्मचारीले आफूलाई लगाएको सबै आरोपमा कुनै पनि सत्यता नभएको भन्दै निराधार भएको अध्यक्ष बस्नेतले दाबी गरे । उद्योगको व्यवस्थापन हेर्ने जिम्मा आफ्नो नभई महाप्रबन्धकको भएको र आफू उद्योग व्यवस्थापनले ल्याएका एजेन्डामा बैठकमा छलफल गराउने भूमिकामा मात्रै आफ्नो उपस्थिति रहेको पनि उनले बताए ।
त्यसो त समयमा बोर्ड बैठक समेत नबसाएर अध्यक्ष बस्नेतले उद्योगलाई अनिर्णयको बन्दी बनाएको आरोप उद्योगको काँग्रेस सम्बद्ध ट्रेड युनियनका अध्यक्ष रामचन्द्र यादबले लगाए । उद्योग र कर्मचारी प्रतिकूल अध्यक्ष बस्नेतको व्यवहार देखिएपछि आफूहरुले हस्ताक्षर गरेर मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।
उद्योगका एमाले सम्बद्ध नेपाल स्वतन्त्र मजदुर युनियनका अध्यक्ष राधे कोइरालाले भने अध्यक्षको अनावश्यक हस्तक्षेपकारी गतिविधि सह्य नभएको बताए । ‘उहाँ (अध्यक्ष बस्नेत) कार्यकारी प्रमुख होइन्’ अध्यक्ष कोइरालाले भने–‘तर उद्योगको आर्थिक गतिविधिमा अध्यक्ष बस्नेतले उद्योगको कार्यकारी प्रमुख भन्दा बढी हस्तक्षेपकारी भूमिका रहेको छ ।’ ४/४ महिनादेखि तलब नखाएर काम गरिरहेको कर्मचारीलाई दशैंको मुखमा समेत ६०/४० को सीमामा बार्गेनिङ गरेर मजदुर कर्मचारीलाई धोखाधडीको नियत देखाउनुभएको समेत अध्यक्ष कोइरालाले आरोप लगाए ।
उद्योगलाई एकपक्षीय र आफ्नो ढंगले अगाडी बढाउन खोजिरहेको उद्योगका कर्मचारीको आरोप छ । उद्योगका महाप्रबन्धक खगेन्द्र बहादुर बस्नेत समेतले अध्यक्ष बस्नेतको हस्तक्षेपकारी भूमिकामा मौनता प्रकट गरिरहेको उनीहरुले बताएका छन् । उद्योग मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर समेत रहेका महाप्रबन्धक बस्नेतसँग सम्पर्क गर्दा अध्यक्ष बस्नेत माथि कर्मचारीहरुले लगाएको आरोपको बारेमा केही बोल्न चाहेनन् । आफू व्यवस्तताका बाबजुद उद्योगमा पुगिसकेको र उद्योगको अन्य सम्बेदनशील विषयमा छलफलमा रहेकाले यस विषयमा पछि कुरा गर्ने बताए ।
महाप्रबन्धक बस्नेतको मन्त्रालय र उद्योगमा गरी दुइतिरको जिम्मेवारीले गर्दा पनि उद्योग अस्तव्यस्त बन्न थालेको बताइन्छ । उद्योगमा यसअघिका महाप्रबन्धक न्यौपानेले राजिनामा असारमा गएको असार ४ गते राजिनामा दिएका थिए । त्यसपछिका अहिलेसम्मको समयमा असार १९ मा उमा शंकर आनन्दलाई, साउन ४ मा महेश प्रसाद साहलाई र भदौ २६ गते खगेन्द्रबहादुर बस्नेतलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । यति छोटो समयमा निमित्त महाप्रबन्धकको जिम्मेवारी तीन÷तीन जनालाई तोकिनुले उद्योग कसरी चलिरहेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । पछिल्लोपटक जिम्मेवारी पाएका बस्नेतको मन्त्रालय र उद्योग दुई ठाउँमा काम गर्नुपर्छ । त्यसले पनि उद्योगले राम्रो समय दिने व्यवस्थापकीय नेतृत्व पाउन नसकेको स्वयम् अध्यक्ष बस्नेतले स्वीकारे ।
केही समय अघि उद्योगमा भित्र भएका कम्पनी अधावधिक, कर्मचारी प्रशासन, उद्योगको उत्पादनको गुणस्तर, विक्री वितरण रणनीति, उद्योग सञ्चालको लागि पूँजी जुटाउने योजना जस्ता थुप्रै सुधारका कामहरुले गति लिन थालिसकेको उद्योग केही महिना नवित्दै लथालिङ्ग अवस्था तिर धकेलिन थालेको छ ।
‘उद्योगमा एकातिर महाप्रबन्धकको लागि खुल्ला आबेदन मागिदैछ अर्कोतिर अध्यक्ष बस्नेतको आफू अनुकुलको व्यक्तिलाई सिफारिस गरी मन्त्रीज्यूले नियुक्ति गरेर अन्यौलता श्रृजना गरिरहनुभएको छ ।’ उद्योग मन्त्रालयका एक कर्मचारी भन्छन– ‘महाप्रबन्धकमा खगेन्द्र बस्नेत नियुक्ति भएपछि दुई दिन मात्रै उद्योगमा हाजिर भएर सबै बैंक खाता रोक्का गरेर आए ।’
पछिल्लो समयमा महाप्रबन्धक बस्नेतलाई अध्यक्ष केशबकुमार बस्नेतले नियुक्ति गर्नुको कारण गुणस्तरीय चुनढुंगा निजी कम्पनीलाई बिक्री गरी ठूलै कमिसनको रकम कुम्ल्याउने दाउ रहेको हुनसक्ने मन्त्रालयकै कर्मचारीले आंकलन गरिरहेका छन ।
महाप्रबन्धकमा कार्की र भुजेलको संभावना !
यसैबीच उद्योगमा अहिले खुल्ला आवेदन माग गरेर महाप्रबन्धक नियुक्ती प्रक्रिया अगाडी बढाइदैछ । सो प्रक्रियामा ७ जनाले आवेदन दिइएकोमा १ जनाको योग्यता नपुगेर बाहिरिएका छन् । यसरी ६ जना सर्ट लिष्टमा परेका छन् । तिनै ६ जना मध्येबाट महाप्रबन्धक छानिने भएको छ ।
त्यसमध्ये नेपाली काँग्रेस निकट, त्यसपछि माओवादी निकटको संभावना बढी देखिएको छ । काँग्रेस निकट सुरेशकुमार कार्की रहेका छन् । सिराह स्थायी घर भएका कार्की कानुन व्यवसायी पनि हुन् । स्वच्छ छवि भएका मानिने यी कार्कीलाई महाप्रबन्धक बनाउन पूर्वका कांग्रेसहरु लागिपरेका स्रोत बताउँछन । उद्योग मन्त्री कांग्रेसकै भएकोले यिनको महाप्रबन्धक हुने अलि बढी संभावना रहेको पनि स्रोतको दाबी छ ।
त्यस्तै दिल बहादुर भुजेल उदयपुर नेपालटारकै हुन् । माओवादी निकट मानिने उनी व्यवस्थापनमा कुसल व्यक्तिको रुपमा चिनिन्छन् । माओवादी निकट भएकाले उनलाई महाप्रबन्धक बनाउन तल्लो पार्टी संगठनबाट लबिङ भइरहेको बुझिएको छ ।
महाप्रन्धकका अर्का उम्मेद्वार कबिन्द्र रेग्मी नेकपा समाजबादी नजिक भएको स्रोत बताउँछन् । यसपटक काँग्रेस–माओवादी नजिककोलाई महाप्रबन्धक बनाइने भएकाले रेग्मीको संभावना देखिदैन ।
अन्य उम्मेद्वारले आवेदन दिएपनि संभावनै नभएको मन्त्रालय स्रोत बताउँछन् । तथापी अन्य ‘टुल्स’ले काम गरेमा कार्की र भुजेलको विकल्पमा अर्को व्यक्ति समेत महाप्रबन्धकमा संभावना रहेको स्रोत बताउछ ।
महाप्रबन्धक जो आएपनि उद्योग सञ्चालन गर्न चुनौतिपूर्ण देखिएको छ । यो उद्योगलाई स्वस्फूर्त सञ्चालन गर्न घटीमा १५ करोड रुपैयाँ र अतिरिक्त रणनीति आवश्यक देखिन्छ । यो रकम जुटाउन अहिलेको अवस्थामा मुस्किल देखिन्छ । तथापी उद्योगका अध्यक्ष बस्नेत लागिपरेको बताउँछन् । केही दिन अघि मात्रै अर्थमन्त्रीलाई भेटेर बजेट निकासाको लागि अनुरोध गरेको उनले बताए ।
सरकारले जीर्ण मेसिन फेर्न, मर्मतसम्भार गर्न, अपग्रेडिङ गर्न मात्रै १५ करोड दिए उद्योग संचालन गरेर नाफामा लैजान सक्ने रणनीतिका साथ लागिपरेको निवर्तमान महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योग मन्त्रीलाई अल्टिमेटम दिंदा समेत मन्त्री रिजालले थप लगानी गर्न तत्परता नदेखाएपछि न्यौपानेले राजिनामा दिएका थिए ।
महाप्रबन्धक न्यौपानेले उद्योगबाट विदा लिएको ५ महिना हुन लाग्दा समेत उद्योगको वेबसाइटमा महाप्रबन्धक भने उनैको नाम छ । साभार इआर्थिक डटकम