उदयपुर । कुनै वेला गाउँघरका चौतारा, पाटी, पौवा भनेपछि सार्वजानिक स्थलका रूपमा परिचित थिए । बढ्दो सहरीकरणसँगै गाउँगाउँमा सडक विस्तार भएपछि परम्परागत पाटी, पौवा र चौतारा लोप हुँदै गएका छन् ।
नेपालीको मौलिक संस्कृति बोकेका चौतारा, पाटी, पौवा लोप हुँदै गएका छन् । कटारी नगरपालिका– ४ की ८५ वर्षीया कृष्णकुमारी कटुवालले भनिन्, ‘चौतारमा बसेर गाउँको विकास निर्माण, गाउँकै झैझगडाका विषयमा पञ्चले चौतारामै बसेर मिलाउँथे । अहिले त्यो चलन पनि हटेको छ । अनि चौतारा, पाटी, पौवा पनि खासै देखिँदैनन् ।’
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत सडक यातायात विस्तार भएपछि पाटी, पौवा र चौतारा हराउँदै गएको रूपाटारका शिक्षक तोया बुढाथोकी बताउँछन । ‘चौतारा गर्मीयाममा आराम गर्न, गाउँमा हुने सभा बैठक आयोजना गर्न, बटुवाले वास बस्न प्रयोग हुन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय यातायातको विकाससँगै चौताराहरू प्रयोगविहीन छन् । हिजोआज भएका भत्काउन थालिएको छ ।’
चौतारा, पाटी, पौवा प्रयोगमा आउन छाडेका छन् । धर्म र संस्कृतिसँग जोडिएका वरपिपल रोप्ने र चौतारा बनाउने चलन पछिल्लो समय मासिँदै गएको अनुभव पनि उनै शिक्षकको छ । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै मृतक आफन्तको स्मरणमा चौतारा र पाटी, पौवा निर्माण पनि हुन छाडेका छन् । भरियाले भारी बोक्दा र बटुवाले बाटो हिँड्दा वास बस्न प्रयोग गर्ने चौतारा अहिले यातायातको विकाससँगै लोप हुँदै गएको भन्दा फरक नपर्ला ।
उदयपुरका शिक्षक पदम राईले आधुनिक युग सुरु भएसँगै चौतारा, पाटी, पौवा हराउँदै गएको बताए । ‘नेपालीपन झल्काउने संस्कृति पाटी, पौवा, चौतारा पनि हुन्,’ उनले भने, ‘याे संस्कृति आधुनिक युगा सुरु भएसँगै हराउँदै गएको छ । यसलाई संरक्षण गर्न राज्यले ध्यान दिए धेरै राम्रो हुने थियो ।’ उनका अनुसार करिब पाँच हजार वर्षअघि युरोपियन र अरेबियन व्यापारी नेपालको बाटो हुँदै तिब्बत तथा चीनसम्म व्यापार गर्न जाने चलन थियो । राईले भने, ‘मानव सेवाप्रति अभिप्रेरित भई बाटोमा वरपिपल रोपेर चौतारा निर्माण गर्ने चलन सुरु भएको इतिहासमा भेटिन्छ ।’
नेपालमा पनि झन्डै पाँच हजार वर्षअघिदेखि मृतकका आफन्तले मृतकको सम्झनामा चौतारा र पाटीपौवा निर्माण गर्न थालेको पाइन्छ । बटुवा आएर बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरणसमेत हुने भएकाले चौतारामा वरपिपलका बिरुवा रोप्ने चलनसमेत रहिआएको कथन छ ।
चौतारामा हुने छलफल, भेला, बैठक, आमसभा अहिले सभाहल, सामुदायिक भवनको सभाकक्ष, वडा कार्यालयको भवनमा हुने गरेको छ । ‘चौतारामा हुने छलफल अहिले सामुदायिक भवनमा हुने गरेको छ,’ स्थानीय पत्रकार होम बस्नेतले भने, ‘सामुदायिक वन समूहलगायतका विभिन्न सरकारी तथा गैरसरकारी निकायले गाउँगाउँमा भवन निर्माण गरिदिएकाले पनि पाटी, पौवा, चौतारा हराउँदै गएका हुन् ।’