उदयपुर । उदयपुरमा असोज महिना लागेसँगै कतै धान पसाउन लागेको छ, भने कतै पाक्न थालेको छ । पोसाएको धान पाक्न थालेको छ ।
खेतहरूमा धान लहलह भएको छ । उदयपुरको भित्री मधेसका खेतहरूमा अधिकांश ठाउँमा धान पहेँलपुर देखिन थालेको छ । शरद ऋतु झल्काउने मनमोहक हरियाली तथा पहेँलपुर धानको दृश्य मनै लोभ्याउने खालको छ ।
उदयपुरमा धान उत्पादन हुने जमिन कुल १३ हजार तीन सय ८० हेक्टर रहेको सरकारी तथ्यांक छ । जिल्लाको भित्री मधेसमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगीदह, बेल्टार, बसाहा, सुन्दरपुर, रामपुर ठोक्सिलालगायतका क्षेत्रमा अहिले कतै धानको बाला पसाउँदै छ भने धेरैजसो ठाउँमा पहेँलपुर भएको छ ।
उदयपुरमा बर्खे, भदैया, चैते गरी वार्षिक जम्मा १४ हजार सात सय ५६ हेक्टर क्षेत्रफलमा ५८ हजार नौ सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
निर्माणधीन चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौँडा जोड्ने मदन भण्डारी राजमार्ग आसपास अहिले हरियाली र पहेँलपुर भएको धान देख्न पाइन्छ । स्थानीय तह, प्रदेश र संघीय सरकारको नजर कृषि पर्यटनमा पनि गए धेरै राम्रो हुने सरोकारवालाहरूको भनाइ छ ।