रामपुर । उदयपुरको बेलका नगरपालिका–९ का ६० वर्षीय समशेरबहादुर कार्कीलाई वर्खायाम सुरु भएसँगै निद्रा लाग्दैन् । आकाशबाट पानी पर्न थालेपछि सप्तकोसीको बाढी गाउँ पस्ने हो की भन्ने भयले कार्कीलाई पिरोल्छ । गएको वर्ष साउनको तेस्रो साता सप्तकोसी नदी बाँध कटान गरी मानवबस्तीमा पसेको थियो ।
त्यसवेला धेरै तटीय क्षेत्रका बासिन्दाको उठीबास भएको थियो । बेलका नगरपालिका– ८ डुम्रीबोटेमा पर्ने लाहुरखोँचमा कटान गर्दै नदी मानवबस्तीमा पसेपछि, बाढीको कारण बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर ८, ३, ९, २ र १ सँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ प्रभावित भएका थिए । कार्की गुनासो गर्दै भन्नुहुन्छ, ‘पानी पर्न थाल्यो की बाढी आउँछ की भन्ने पिरले पिरोल्छ ।’
वर्खायाम सुरुभएसँगै वर्षेनी सप्तकोसी नदीको कटानमा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको तटीय क्षेत्र पर्दै आइरहेको छ । अहिले नदी कटानको कारण तटिय क्षेत्रका बासिन्दाको निदनै हराएको छ ।
कार्की जस्तै गुनासो गर्ने बेलका नगरपालिका–८ डुम्रिबोटका ५० वर्षीय जेमप्रसाद राई पनि हुनुहुन्छ । सप्तकोसीको बाढी फेरि गाउँ पस्ने भनेर चिन्ताले बाढी घटेको बढेको हेर्न सप्तकोसी नदी किनारमा गईरहनुहुन्छ । वर्षेनी बाढीको समस्या झेल्दै आएका यहाँका बासिन्दा सरकारले नै उपेक्षा गरेको गुनासो गर्दछन् । उहाँ भन्नुहुन्छ, ‘वर्खायाम सुरु भएपछि मात्र सप्तकोसीको तटीय क्षेत्रमा फाटफुट्ट बाँध बाँध्ने काम हुन्छ । अनि कसरी कोसी रोकिन्छ ?’
नदी कटान रोक्न स्थानीय, प्रदेश र संघीय सरकारका कुनै ठोस योजना नहुँदा वर्षेनी कटान हुँदै बढ्दै गएको छ । हिउँदमा चासो नदिने सरोकारवाहरु कटान सुरु भएपछि अनुगमन गर्न पुग्ने गरेका छन् । बाढी आउन थालेपछि सरोकारवालाले सामान्य बाँध बाध्ने काम गरे पनि कटान रोक्नको लागि दिर्घकालीन योजना नभएको स्थानीय बुद्धिजीवि भरत घिमिरे बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले उदयपुरको मात्र नभएर सप्तकोसी तटीय क्षेत्रमा पर्ने सुनसरी, उदयपुर र सप्तरी क्षेत्रमा दिर्घकालिन योजना बनाउन जरुरी छ । त्यो देखिदैन् । जसको कारण वर्षेनी वर्खायाम सुरुभएसँगै बाढीको पिर हुन्छ ।’
केही दिनदेखि माथिल्लो पहाडी क्षेत्रमा परेको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहावबढेसँगै नदी तटिय क्षेत्रमा बसोबास गर्ने बेलका र सुनसरीका बराह नगरपालिकाका स्थानीय त्रसित बनेका छन् ।
गएको वर्ष सप्तकोसी नदी गाउँ पस्दा बेलका नगरपालिका र बराह नगरपालिकाका झण्डै दुई हजार घर डुबानमा परेका थिए, भने आठसय बिघाभन्दा बढी धानखेती नष्ट भएको थियो । अहिले वर्खायाम सुरु भएसँगै सप्तकोसी नदीले गत वर्ष कटान गरेको भन्दा एक किलोमिटरमाथिबाट कटान सुरु गरेको छ । कोसीले हालसम्म पाँचसय मिटर कटान गरिसकेको छ । जसको कारण फेरि पनि कोसी गाउँ पस्ने चिन्ता तटिय क्षेत्रका बासिन्दा भयवित बनेका छन् ।
यता बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रदेश र संघीय सरकारको पहलमा कटान रोकथामको लागि बाध निर्माण गर्ने काम भइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गएको वर्ष सप्तकोसीले कटान गरेको लगायतका तीन क्षेत्रमा यसपालिका छसय ७० मिटर बाँध बाधिसकेका छौँ । यसमा भारत सरकारले पनि तल्लो क्षेत्रमा ५० मिटर बाँध बाँधिदिएको छ ।’
प्रमुख कार्कीले सप्तकोसी नदी कटान वषौँदेखिको भएकाले नियन्त्रणको लागि संघीयले सरकारले ठोस योजना ल्याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले मात्र कोसी नियन्त्रण हुन सक्दैन, प्रदेश र संघीय सरकारले पनि ठोस योजना नल्याउँदा वर्षेनी कटान हुने गरेको छ ।’
हिउँदमा कटान रोक्ने कुनै ठोस योजनासहितको तटबाँध निर्माणमा ध्याँन नदिने स्थानीय तह, प्रदेश र संघीय सरकार गैर जिम्मेवार हुन भन्दा फरक पर्दैन् । अघिल्लो वर्ष आइलागेको त्यति ठूलो विपत्ति देख्दा पनि गएको हिउँदमा नदी कटान रोक्न कुनै ठोस काम भएको छैन् ।
कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित हुने भएको बेलका नगरपालिका नगर प्रमुख कार्कीको भनाइ छ ।