उदयपुर । उदयपुरमा फरार रहेका तीनजना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका फरार प्रतिवादीहरु पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मोहन थापाका अनुसार २०५९ असार २६ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा दुई वर्ष कैद भएका सिन्धुली दुधौली नगरपालिका–१४ काली खोलाका घरभई हाल कटारी नगरपालिका–२ खोक्सा बस्ने वर्ष ४० का रिदीकुमार गौतम पक्राउ परेका छन् ।
यसैगरी २०६२ फागुन ८ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ वर्ष कैद तोकिएका कटारी नगरपालिका १ कालिखोला घरभई हाल सिरहा मिर्चैया नगरपालिका ७ का वर्ष ५० का स्वस्तिहरी बराल पक्राउ परेका छन् ।
यता २०७४ फागुन २८ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले लागुऔषध मुद्धामा दश महिना १५ दिन कैद र दस हजार तोकिएका कटारी नगरपालिका ८ का वर्ष ६९ का दुर्गाबहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेको हो । फरार प्रतिवादीहरु पक्राउ अभियान अन्तर्गत गएको फागुन ९ गतेदेखि १४ गतेसम्म ७ जना फरार प्रतिवादी पक्राउ गरेको थापाको भनाइ छ ।
प्रकाशित मिति:
आईतबार, फागुन १४, २०७९, १८:००:००