उदयपुरगढी । उदयपुरगढी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षले पदभार ग्रहण गर्दै जनताकामा सबै जनप्रतिनिधिहरु र कर्मचारी एक जुट हुन आव्हान गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष मानबहादुर केप्छाकी मगर र उपाध्यक्ष जितबहादुर खड्काले उदयपुरगढीको सम्बृद्धिको लागि एक भएर अघि बढ्नु पर्ने बताउनु भएको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष मगरले भन्नुभयो, ‘हामीले जनताका समस्यालाई सबैले हाम्रो समस्या मानेर काम गर्नु पर्छ । यहाँ हामी कर्मचारी र जनप्रतिनिधिहरु सबै एक भएर काम गर्नु पर्ने अवस्था आएको छ ।’ यसैगरी उपाध्यक्ष खड्काले जनताको सेवक भन्ने भावबाट काम सुरु गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको साझा हुनुपर्छ, हामी हिजो जहाँ जहाँ भएपनि आज जनताको सेवा गर्ने ठाउँमा आइपुगेका छौँ । जनताको जुन सेवा गछौँ, भनेर प्रतिवद्धता व्यक्त गरेका छौँ । त्यो पूरा गर्नुपर्छ ।’ यसैगरी प्रमुख प्रशासकीय अधिकृत रमेश राईले नवनिर्वाचितहरुलाई स्वागत गर्दै गाउँपालिकालाई सबै साझा थलोको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । अध्यक्ष मगरले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई पदीय गोपनीयताको सपथ खुवाउनु भएको थियो । गाउँपालिकामा जम्मा ४२ जना नवनिर्वाचित जनप्रतिनिधिहरु छन् । जसमा अध्यक्ष मगरले उपाध्यक्षसहित ८ जना वडाअध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।
उदयपुरको ६ स्थानीय तहमा नयाँ निर्वाचित जनप्रतिनिधिहरु आइसकेका छन् । जसमा पदभार ग्रहण गर्ने उदयपुरगढीका जनप्रतिनिधिहरु पहिलो हुन् । बेलका नगरपालिकाका, चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका जनप्रतिनिधिहरुले आगामी बुधबार मात्र पदभार ग्रहण गर्ने बताउनु भएको छ । त्रियुगा नरपालिकामा मतगणना सुरु हनु सकेको छैन्, भने कटारी नगरपालिकामा मतगणना जारी रहेको छ ।
प्रकाशित मिति:
मंगलबार, जेठ १०, २०७९, ०७:४३:००