उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ बुद्धचौकीकी एक बालिकाको हत्या भएको छ । मंगलबार विहान घरबाट ट्युसन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवारको जशोधा खोलामा हत्या भएको हो ।
उनको शव बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै एकिन गर्न नसकिने बताउनुभयो । उहाँले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने जानकारी दिनुभयो ।
कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका एसइइको परीक्षा नजिकिंदै गर्दा तयारीका लागि ट्युसन पढ्न सधैं बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिव ७ सय मिटर र घरबाट करिव दुई किलोमिटर पर रहेको स्थानीय सुमनसागर खतिवडाले जानकारी दिनुभयो ।
प्रहरीले दुई जनालाई नियन्त्रणमा अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरूबारे पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार पक्राउ पर्नेमा एक युवक र एक युवती छन् ।
प्रकाशित मिति:
मंगलबार, चैत २२, २०७८, १३:२०:००