गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको आठौं नगर सभा शुरु भएको छ । सभामा नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरक्षेत्रभित्रका एलानी, पर्ती रहेका जमिन र अव्यवस्थित बसोबासहरुको जग्गा व्यवस्थापन, त्रियुगा नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्ने कार्य योजना, नगरक्षेत्रमा बिजनेस सेन्टर लगायतका भौतिक संरचनाको निर्माणको लागि नगर विकास कोषबाट ऋण लिने, मेडिकल कलेजको स्थापना र थ्री पी मोडलमा सिमेन्ट उद्योग स्थापनालगायतका दुरगामी महत्वका प्रस्तावहरु राख्नुभएकाे छ ।
उहाँले चालु आर्थिक वर्ष २०७८।०७९ को बजेट कार्यन्वयनको चरणमा रहेको बताउँदै एलानी जग्गा व्यवस्थापन, जनतासँग मेयर कार्यक्रम, धुँवारहित चुल्हो आमाको स्वास्थ्य ठूलो, फोहर व्यवस्थापनका लागि कामहरु भइरहेको जानकारी दिनुभयाे ।
मेयर चौधरीले विगत ५ वर्षका अवधिमा त्रियुगा नगरपालिकाले सम्पन्न गरेका प्रमुख कार्यहरुलाई उपलब्धिहरुको रुपमा लिएको बताउनुहुँदै समग्र आर्थिक अवस्थाबारे संक्षिप्त चर्चा गर्नुभयाे । २०७४ साल साउन १ गते सपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका जनप्रतिनिधिहरुले उज्यालो नगर कार्यक्रम अन्तर्गत प्रत्येक वडाहरुमा विजुलीबत्ती र सौर्य बत्ती पुर्याउनुका साथै नगरको गौरवको योजनाको रुपमा, कृषि बजार, नदी नियन्त्रण, कालोपत्रे र ग्राभेललगायतका विभिन्न सडक, थरुहट रंगशालाको निर्माण, अभरमा नगर जस्ता विपत्तमा राहत दिने कार्यक्रमहरुबाट नगरवासीले प्रत्यक्षरुपमा फाइदा लिएको बताउनुभयाे ।
यसैगरी उनले कृषिमा वैज्ञानिक यान्त्रिकरणले कृषकहरुको जीवनस्तर उकास्न मदत पुगेको बताउँदै कोभिडको कहरमा हरबखत नगरवासीको साथ रहेको बताउनुभयाे । नगर सभामा बोल्दै प्रमुख चौधरीले स्थानीय शासन प्रणालीलाई संस्थागत गर्न, शासकीय प्रवन्ध क्षमता अभिवृद्धि गरी स्थानीय सरकारको अनुभूति गराउन क्षेत्राधिकारभित्र रहेका विभिन्न विषयसँग सम्बन्धित ११ वटा एन, ४७ वटा नियमावली, निर्देशिका, कार्यविधी, मापदण्ड यसै नगर सभाले पारित गर्ने जानकारी दिनुभयाे । उहाँले शुरुका वर्षमा करिब २ करोड ५७ आय भएको यस नगरपालिकामा गत आवमा करिब ११ करोड राजश्व संकलन भएको थियो ।