काठमाडौं । ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ ।
ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ । लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ ।
चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ । ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ ।
चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्न छ, ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिवार सम्वाददाताहरूसँग भने । बेइजिङस्थित चीन सरकारले यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।
यसअघि उसले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो । ताइवानको रक्षा मन्त्रालयले वक्तव्य मार्फत २५ चिनियाँ पिपुल्स लिवरेसन आर्मीका विमानहरू आफ्नो दक्षिण पश्चिमी हवाई प्रतिरक्षा पहिचान प्रणालीमा प्रतास टापुमाथि दिउँसै प्रवेश गरेको जनाएको छ ।
त्यस लगत्तै शुक्रवार साँझ ३१ वटा थप विमानहरू त्यही क्षेत्रमा प्रवेश गरेका थिए । उनीहरू ताइवान र फिलिपिन्सको समुद्रमाथि उडेका थिए । ताइवानका अनुसार चार वटा परमाणु हतियार बोक्ने क्षमताका एच ६ बमवारि गर्ने विमानहरू थिए भने एउटा पनडुब्बीमाथि आक्रमण गर्ने क्षमता राख्ने विमान थियो ।
एअर डिफेन्स आइडेन्टीफिकेसन जोन देशको भूगोल र हवाई सीमा बाहिरको क्षेत्र हो जहाँ विदेशी विमानहरू राष्ट्रिय हितका लागि पहिचान, निगरानी र नियन्त्रण गर्न सकिन्छ । यो स्वघोषित क्षेत्र हो र प्राविधिक रूपमा अन्तर्राष्ट्रिय हवाई क्षेत्र अन्तर्गत पर्दछ ।
ताइवानका कतिपय टिप्पणीप्रति असन्तुष्टि जनाउन बेइजिङले समय समयमा यस्ता मिसनहरू सञ्चालन गर्ने गरेको छ । पछिल्लो मिसन के कुराको असन्तुष्टिका लागि थियो भन्ने खुल्न सकेको छैन । गत महिना मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो ।
के हो चीन ताइवान सम्बन्ध ?
सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्यदेखि चीन र ताइवानमा छुट्टै सरकार छन् । बेइजिङले ताइवानको अन्तर्राष्ट्रिय गतिविधि नियन्त्रण गर्ने प्रयास लामो समयदेखि गरिरहेको छ र दुवैले प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन सङ्घर्ष गरिरहेका छन् ।
हालैका वर्षहरूमा तनाव बढेको छ र बेइजिङले उक्त द्वीप फिर्ता लिन बल प्रयोग गर्न सक्ने सम्भावना अस्वीकार गरेको छैन । आधिकारिक रूपमा ताइवानलाई केही राष्ट्रहरूले मात्रै मान्यता दिएको भए पनि प्रजातान्त्रिक रूपमा निर्वाचित त्यहाँको सरकारको विभिन्न देशहरूसँग बलियो व्यावसायिक र अनौपचारिक सम्बन्ध छ
अन्य धेरै राष्ट्रहरू जस्तै अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा दौत्य सम्बन्ध छैन तर अमेरिकाको एउटा कानुन अनुसार उसले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न आवश्यक उपायहरू उपलब्ध गराउनु पर्ने हुन्छ । नेपाली बिबिसी सेवाबाट