एजेन्सी । हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ । उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ ।
उत्तर कोरियाले मङ्गलवार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । ह्वासङ् ८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका महत्त्वपूर्ण पाँच हतियार प्रणालीमध्ये एक भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो । यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो । ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो । जसलाई उसले विश्वको सबैभन्दा शक्तिशाली अस्त्र दाबी गरेको थियो । सो हतियारको क्षमता अज्ञात छ र त्यो परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट छैन ।
उत्तर कोरियाली नेता किम जङ अनले आफ्नो देशको पारमाणविक अस्त्र र सैन्य क्षमता बढाउने बताएका छन् । आर्थिक नाकाबन्दीका बीचमा पनि उत्तर कोरियाले आफ्नो अस्त्र क्षमतामा उल्लेख्य वृद्धि गरेको छ । विदेशी चलचित्र, भाषा र लुगामाथि
अमेरिका पुग्ने क्षेप्यास्त्र
सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएका थिए । ह्वासाङ १२ क्षेप्यास्त्र ४,५०० किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापूमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो ।
पछि ह्वासाङ १४ अझ शक्तिशाली भएको देखियो जसले ८,००० किलोमिटर मार हान्ने र अधिकतम १०,००० किलोमिटरसम्म पुग्ने बताइएको थियो । त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ ।
ह्वासाङ १५ परीक्षण गर्दा ४,५०० किलोमिटर माथि पुग्ने बताइयो । यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो । जमिनमा प्रहार गर्दा यो १३,००० किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो ।
सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्यो । परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ । यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो ।
मार्चमा उत्तर कोरियाले २,५०० किलो हतियार बोक्न सक्ने नयाँ क्षेप्यास्त्र बनाएको बतायो । यसको अर्थ यसले पारमाणविक हतियार बोक्न सक्छ भन्ने हुन्छ । हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज क्षेप्यास्त्रले रक्षा प्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घिय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन । मङ्गलवार परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको भने गति तीव्र छ ।
थर्कोन्यूक्लीयर बमहरू
सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण गर्यो । सो उपकरणको विस्फोटन शक्ति १०० देखि ३७० किलोटनको रहेको छ । १०० किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छ गुणा शक्तिशाली हुन्छ ।
उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीयर हतियार परीक्षण भएको दाबी गरेको छ । थर्मोन्यूक्लीयर हतियारलाई परमाणुले विस्फोटन गरेपछि पुनः अर्को विस्फोटन गराई झन् ठूलो विस्फोट हुन बनाइन्छ ।
सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो । उसले आफ्नो परमाणु अस्त्र परीक्षण स्थल ध्वस्त पार्ने बताउँदै केही विदेशी पत्रकारको उपस्थितिमा केही पूर्वाधारहरू ध्वस्त बनाएको थियो । तर सो बेला अन्तर्राष्ट्रिय विज्ञहरू भने त्यहाँ उपस्थित थिएनन् ।
सो वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सञ्चार सम्पर्कपछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम चलाउने सबै पूर्वाधार बन्द गर्ने बताएको थियो । तर ट्रम्प र किम जङ अनको वार्ता उपलब्धिमूलक भएन ।
अगस्टमा संयुक्त राष्ट्रसङ्घीय इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीले उत्तर कोरियाले परमाणु कार्यक्रम स्थल पुनः चलाउन थालेको बताएको थियो । सेप्टेम्बरमा उनले त्यहाँको पारमाणविक कार्यक्रम पूर्ण मात्रामा सञ्चालनमा रहेको बताएको थियो ।
उत्तर कोरियालीको लाखौँ सैनिक
उत्तर कोरियाको विशाल सैनिक सङ्ख्या छ । त्यहाँ १० लाखभन्दा बढी सैनिक र थप छ लाख रिजर्भ सैनिक रहेका मानिन्छ । उसका धेरै अस्त्र पुराना र काम नलाग्ने भए पनि युद्धको अवस्थामा कुल छ लाख सेना रहेको दक्षिण कोरियालाई सङ्ख्याकै कारण ठूलो क्षति पुर्याउन सक्ने मानि ।
अर्को खतरा सीमामा राखिएका ३१ हजारभन्दा बढी रकेट लन्चर जस्ता हतियार हुन् जसले ६० किलोमिटरको दूरीमा रहेका सोललाई खतरामा पार्न सक्छन् ।
सन् २०१२ मा दक्षिण कोरियाले उत्तर कोरियासँग २,५०० देखि ५,००० टन रासायनिक हतियार रहेको अनुमान गरेको थियो । जुन सम्भवतः संसारकै सबैभन्दा ठूलो मौज्दात हो । उत्तर कोरियामा जैविक हतियार कार्यक्रम पनि चलिरहेको हुन सक्ने बताइन्छ । बिबिसी