उदयपुर । मंगलबार देशभर तीन हजार ८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो ।
सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ ।
प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित
प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेश १ मा २०२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।