रौतहट |
रौतहट गढीमाई नगरपालिका-३ लक्ष्मीपुर मुसरीटोलकी एक महिलाको हत्या भएको छ।
दुई साता नपुग्दै रौतहटमा हत्याको यो दोस्रो घटना हो।
प्रहरीका अनुसार ३५ वर्षीया मिन्त्रादेवी बैठाको आइतबार साँझ हत्या भएको हो। प्रहरीलाई सवा ६ बजे हत्याको खबर आएको थियो।
घाँस काट्न गएकी ती महिलालाई घाँटीमा सारीको फेरोले कसेर हत्या गरिएको अवस्थामा फेला पारिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए।
उनी घरबाट करिब चार सय मिटर पर घाँस काट्न गएकी थिइन्।
घटनास्थलमा उखुबारी मडारिएको तथा पातपतिंगरहरू सोहोरिएको देखिएको छ। शरीरको छाला पिल्सिएको देखिँदा उनलाई घाँटी कसेपछि घिस्याएको देखिन्छ। उनको शरीरभरि चोट लागेको छ।
अहिलेसम्म यो घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन्। घटना अनुसन्धानमा जुटेको भन्दै प्रहरी उपरीक्षक खड्काले तत्काल कोही पनि पक्राउ नपरेको बताए।
‘घाँटी कसेर हत्या गरिएको अवस्थामा लास फेला परेको छ,’ उनले भने, ‘घटनाको अनुसन्धानमा छौं, केही फेला परिसकेको छैन।’
रौतहट कलैया उपमनपा-१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीलाई पनि यही शैलीमा गत साउनमा हत्या गरिएको थियो। रौतहटमा हत्याका शृंखलाबद्ध घटना भइरहेका छन्।
बैठा सामान्य परिवारकी हुन्। रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार उनको शव पोस्टमार्टम लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।
उनका श्रीमान् काठमाडौंमै एउटा कवाडी कारखानामा काम गर्छन्। ती महिलालाई बलात्कारपछि हत्या गरेको हुनसक्ने आशंका पनि गरिएको छ। तर, प्रहरीले यकिन गर्न सकेको छैन।
‘बलात्कारपछि हत्या गरेको पनि हुनसक्छ, हामीले रिपोर्ट हेरिसकेका छैनौं,’ श्रेष्ठले भने।
यसैबीच जिल्लाको माधवनारायण नगरपालिका-२ का पूजारीको हत्या भएको १२ दिन पुगेको छ। प्रहरीले हत्यामा को संलग्न थियो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
खेसरहियास्थित हनुमान मन्दिरका पूजारी ६२ वर्षीय श्रीराम साहको अज्ञात समूहले मन्दिरमै भदौ ३ गते राति सवा ९ बजे गोली हानी हत्या गरेको थियो। यो हत्याका दोषी पक्राउ गर्न नसकिरहेका बेला हत्याको अर्को घटना घटेको हो।
रौतहटको गरूडा क्षेत्र अहिले पनि अशान्त छ। गरूडा नगरपालिका-८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा भदौ ११ गते मृत्यु भएको थियो। उनी सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए। तर, उनलाई प्रहरीले अत्यधिक यातना दिएको आरोप लागेको छ।